ओलीले जबजलाई नारायणीमा विसर्जन गरे : अध्यक्ष नेपाल

केन्द्रभाग मिडिया

फाइल तस्बिर

अर्घाखाँची ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेले जनताको बहुदलीय जनवादलाई नरायणीमा विसर्जन गरेको टिप्पणी गरेका छन् ।

शनिबार नेकपा एकीकृत समाजवादीले अर्घाखाँचीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् । ‘एमालेले जनताको बहुदलीय जनवादका गफमात्रै हाँकिरहेको छ । देख्नुभएन नारायणी किनारमा के के भयो ?’ उनले भने, ‘केपी ओलीले जनताको बहुदलीय जनवादलाई चितवनको नारायणी नदीमा विसर्जन गरे।’

अध्यक्ष नेपालले आगामी निर्वाचनमा एमालेलाई पत्तासाफ पार्ने दाबी समेत गरे । अहिलेको सत्ता गठबन्धनलाई निर्वाचनसम्म टुट्न नदिने र निर्वाचनबाट एमालेलाई पत्तासाफ पार्ने उनले दाबी थियो।

नेपालले सत्ता गठबन्धनलाई टुटाउन विभिन्न शक्ति लागिरहेको भन्दै गठबन्धनलाई कसैले टुटाउन खोजे पनि नटुट्ने, बरू अझै सशक्त भएर अगाडि बढ्ने बताए ।

नेता नेपालले अर्घाखाँचीमा रिक्त रहेको निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने वा अर्को वर्ष एकैपटक निर्वाचन गर्नेबारे छलफल भइरहेको भन्दै जहिले निर्वाचन भए पनि एमाले पूरै पत्तासाफ हुने दाबी गरे।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले एमालेभित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै ढिलोचाँडो नेता कार्यकर्ताले विद्रोह गर्नुको विकल्प नरहेको बताए ।

कार्यकर्ता भेलालाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज भागवत विश्वासी, लुम्विनी प्रदेश अध्यक्ष मेटमणि चौधरी लगायतका नेताले सम्बोधन गरेका थिए।

  • १८ मंसिर २०७८, शनिबार २०:०२ प्रकाशित