पोखरा ।
मादी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज पनि जारी रहेको छ ।
मंसिर १५ गते देखि सुरु भएको रनिङशिल्ड प्रतियोगिता आज तेस्रो अर्थात अन्तिम दिन बिहानै ७ बजेबाट सुरु भएको छ । आज भलिबल खेल तर्फको समीफाइनल तथा फाइनल खेलहरु हुनेछ ।
सेमी फाइनल खेलमा छात्रा तर्फ राष्ट्र ज्योती मावि सैमराङ र जनकल्याण मावि मकैखोला ,महारुद्र मा वि तप्राङ र दुधपोखरी मावि सोंधाबीच फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुदैँछ ।
यस्तै छात्र तर्फ सीताराम मावि यांजाकोट र दुधपोखरी मावि सोंधा, जनकल्याण मावि मकैखोला र ध्रुव मावि तारकाङ फाइनलका लागि भिड्दैछन् ।
हिजो दोस्रो दिन भएको भलिबल प्रतियोगितामा छात्रतर्फ ध्रुव मा.वि तारकाङ विजयी भएको थियो । ध्रुव मा.वि तारकाङले राष्ट्रज्योती मा.वि. सैमाराङलाई हराएको हो । अन्नपूर्ण मा.वि. सिक्लेस र जनकल्याण मा.वि. मकैखोला बीच भएको दोस्रो खेलमा जनकल्याण मा.वि. विजयी भएको थियो।
यस्तै छात्रा तर्फ अन्नपूर्ण मा.वि.सिक्लेस र राष्ट्रज्योती मा.वि. सैमराङ बीच भएको खेलमा राष्ट्रज्योती मा.वि.सैमराङले विजयी भएको हो । दोस्रो खेल हिमालय मिलन मा.वि. ताङ्तिङ र महारुद्र मा.वि. तप्राङ बीच भएको थियो उक्त खेलामा महारुद्र मा.वि. विजयी बनेको थियो ।
यसै गरी मादी गाउँपालिकाको स्थानीय खेल ठेलो प्रतियोगिता हिजो सम्पन्न भएको छ । ठेलो खेलमा छात्रातर्फ राष्ट्र ज्योती मा.वि. सैमराङका सृजना तामाङ प्रथम, जनकल्याण मा.वि. मकैखोलाकी इशा गुरुङ द्धितीय,सिताराम मा.वि.यांजाकोटकी सुस्मिता परियार तृतीय भएकी भइन्
छात्र तर्फको ठेलो प्रतियोगितामा ध्रुव मा.वि. तारकाङका मिलन वि.क. प्रथम, राना जनकल्याण मा.वि. मकैखोलाका साजन राना द्धितीय, हिमालय मा.वि. ताङतिङका मनोज मगर तृतीय भए ।
पहिलो दिन गाउँपालिकाले बेतेनीमा निर्माण गरेको खेलग्रामको उद्घाटन गरिएको थियो । गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले खेलग्रामको शिला अनावरण गरेर उद्घाटन गरिएको थियो ।
खेलग्रामको उद्घाटनपश्चात सोही खेलग्रामा प्रतियोगिता सञ्चालन गरिएको हो । गाउँपालिका अध्यक्ष गुरुङ र उपाध्यक्ष विष्णु आचार्य पौडेलले रेफ्रीलाई भलिबल हस्तान्तरण गरी खेल शुभारम्भ भएको थियो ।
पहिलो दिन अर्थात उद्घाटन खेलमा अन्नपूर्ण मावि सिक्लेस र छात्रातर्फ राष्ट्रज्योति मावि सैमराङले जितेका थिए ।छात्रातर्फ राष्ट्रज्योति र ध्रुव ममावि तारकाङबीच खेल भएको थियो ।
प्रतियोगितामा अन्नपूर्ण मा वि मादी १ सिक्लेस, दुधपोखरी मा वि सोंधा १, हिमालय मिलन मा वि मादी २ ताङ्तिङ, सिताराम मावि मादी ३ यांजाकोट , ध्रुव मावि मादी ४ तारकाङ, महारुद्र मा वि ६ तप्राङ धनुवास, कालिका मावि मादी ७ छाचोक, हिमालय मावि मादी ९ गोर्जे ,जनकल्याण मावि मादी १० मकैखोला, राष्ट्रज्योती मावि मादी ११ सैमराङ गरी १० विद्यालयले प्रतियोगितामा सहभागी भएका छन् ।यही मंसिर १५ गते बाट सुरु भएको रनिङ शिल्ड आज सकिदैँछ ।