भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतीय आयल कर्पोरेसनले पेट्रोल डिजेलको मुल्य घटाएर नेपाल पठाएको छ ।

भारतले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा मूल्य घटाएर पठाए पनि निगमले नेपालमा मुल्या घटाउन नसक्ने बताएको छ । मूल्य घटेर आए पनि आयल निगमको घाटा नघटेको भन्दै पहिलेको मूल्य नै नघटाई यथावत् राखिने निगमले बताएको छ ।

नेपाल आयल निगमका अनुसार बुधबार (डिसेम्बर १) मा पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको हो।

पेट्रोल र डिजेलको मूल्य सामान्य घटे पनि ग्यासको मूल्य झन् बढेको तथा घाटा यथावत् रहेको दाबी निगमले गरेको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढे पछिल्लो समय बढेर आएको नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।आयल निगमको घाटा नघटेको भएर नेपालमा पेट्रोल–डिजेलको मूल्य घटाउन नसकिने निगमले स्पष्ट पारेको छ।

हाल नेपालमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ।

बिक्री(वितरणका आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपैयाँ र डिजेलमा ५० करोड ७२ लाख रुपैयाँ घाटा हुने अनुमान निगमले गरेको छ। यस्तै ग्यासमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ घाटा हुने उसको दाबी छ। समग्रमा १५ दिनमा करिब १ अर्ब ९५ करोड घाटा हुने निगमले अनुमान गरेको छ।
पेट्रोलियम पदार्थमा लगातार मूल्य वृद्धि भएपछि देशभर विरोध भएको थियो । नेकपाको विप्लव समुहले मूल्य वृद्धि फिर्ताको माग गर्दै नेपाल बन्द समेत गरेको थियो ।

  • १७ मंसिर २०७८, शुक्रबार ०८:४० प्रकाशित