पोखरा ।
जल तथा मौसम पूर्वानुमा महाशाखाले आज पाँच वटा प्रदेशमा हल्का देखि मध्यम वर्षा हुनसक्ने जनाएको छ । त्यसैगरी देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेका पनि जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली, सुदूर पश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमति प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू–भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपातको सम्भावना छ ।
राति कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी र हिमाली भू–भागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।