पौडेल समूहको किल्ला मानिने गण्डकीमा देउवा समूहको हस्तक्षेप !

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा कांग्रेस भित्र वरिष्ट नेता रामचन्द्र पौडेल समूह (संस्थापन इतर) को किल्लाको रुपमा विश्लेषण गर्ने गरिन्छ । तर त्यही प्रदेशमा कांग्रेसको अधिवेशन उद्घाटन कार्यक्रममा संस्थापन (देउवा समूह) पक्षले कब्जा गर्न खोजेको भन्दै नारावाजी र होहल्ला भएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार देखि सुरु प्रदेश अधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा अधिवेशन उद्घाटनका क्रममा देउवा निकट नेता गोपालमान श्रेष्ठले प्रदेश कब्जा गर्न खोजेको भन्दै पौडेल निकट नेता कार्यकर्ताले नारावाजी गरेका छन् । कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीले सञ्चालन गरेको कार्यक्रममा संस्थापन पक्षका प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशीलाई मात्र बोल्न दिएको भन्दै इतर पक्षले विरोध गरेको हो ।

कार्यक्रममा पार्टीका वरिष्ट नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइरला, नेता गोपालमान श्रेष्ठ लगायतका नेताहरु सहभागी कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापाले केही समय माइक कब्जा गर्दै ‘विपी कोइराला, गणेशमान र किसुन्जी सहभागी कार्यक्रममा बक्त रहने यज्ञबहादुरलाई मञ्च नदिने’ भन्दै आक्रोस पोखे ।

संस्थापन इतर समूहका कार्यकर्ताले नेता गोपालमान श्रेष्ठले सत्ता र शक्तिको दूरुपयोग गर्न खोजेको भन्दै सबै उम्मेद्वारलाई बोल्न दिनुपर्ने भन्दै नारावाजी गरे । नारावाजी र होहल्लाले प्रभावित उद्घाटन सत्र अहिले सबै उम्मेद्वारलाई बोल्न दिने भनेपछि सुचारु भएको छ । त्यस लगत्तै बोलेका सभापति पदमा उम्मेद्वारी घोषणा गरेका नेता देवराज चालिसेले शत्ता र शक्तिको भरमा पार्टी कब्जा गर्न खोजिएको भन्दै आक्रोस पोखे ।

 

  • १६ मंसिर २०७८, बिहीबार १६:३७ प्रकाशित