पोखरा ।
पूर्व पञ्चहरु मिलेर गठन गरेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन स्थलमा कम्युनिष्ट पार्टीका नेतृत्वकर्ताहरु उपस्थित भएर एक अर्का विरुद्ध आक्रोस पोखेका छन् । बुधबार राजधानीको भृकुटीमण्डपमा आयोजित राप्रपा अधिवेशनको उद्घाटन सत्रमा न्यानो अतिथ्यता स्विकार्न नेकपा एमालेका वरिष्ट उपाध्यक्ष ईश्वर पोखरेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा(एस)का अध्यक्ष माधव कुमार नेपाल र नेकपा मालेका महासचिव सिपी मैनाली लगायतका नेताहरु पुगेका थिए ।
उनीहरुले उद्घाटन सत्रमा सम्बोधन गर्दै राप्रपालाई राष्ट्रवादी शक्ति र एजेन्डामा मिल्ने मात्र बताएनन्, एकअर्का विरुद्ध कटाक्ष गर्दै जुहारी नै खेले । सम्बोधन गर्ने क्रममा माले महासचिव सिपी मैनालीले ०४६ र त्यसपछिको परिवर्तनमा बाह्य हस्तक्षेप रहेको तथा त्यसमा प्रचण्डको पनि भूमिका रहेको अरोप लगाएका थिए । त्यसपछि बोलेका प्रचण्डले मैनालीको अभिव्यक्तिमा असन्तुष्टि जनाउँदै राप्रपाको अध्यक्षले जस्तो टिप्पणी गरेको भन्दै कटाक्ष गरे ।
मैनालीले तत्कालीन राजा महेन्द्रलाई राष्ट्रवादी व्यक्तिको रुपमा चित्रित गर्दै उनकै अडान र चतुर्याइँले नेपाल सिक्किम जसरी विलय हुने अवस्थाबाट रोकिएको बताएका थिए । मैनालीले भनेका थिए– २०४६ सालको परिवर्तन पनि अवाञ्छित वाह्य प्रभाव र हस्तक्षेपसहितको परिवर्तन हो, हो हो । र, हाम्रो पुष्पकमल दाहालले नेतृत्व गरेको जुन २०६३ सालको परिवर्तन छ, त्यसले पनि अवाञ्छित वाह्य प्रभाव र हस्तक्षेप ल्यायो, ल्यायो, ल्यायो ।
मैनालीले त्यसअघि राजा महेन्द्रले दिल्ली हस्तक्षेपबाट भएका परिवर्तनलाई खारेज गरिदिएको बताएका थिए । ‘सिंगो नेपाल भारतमा गाभिएको सिक्किमजस्तो हुनबाट रोक्न पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ भने त्यो राजा महेन्द्रले नै हो’, उनले भनेका थिए, ‘संविधानसभा हाम्रो ७ दशकदेखिको एजेण्डा भनेर नेताहरुले भन्दै आउनुभएको छ, 2००९/०१० सालमा संविधानसभा गर्न पाएको भए नेपाल सिक्किम भइसक्थ्यो । महेन्द्रले त्यो बुझेर तुहाइदिनुभयो ।’
त्यसपछि बोलेका प्रचण्डले सीपी ओलीको अभिव्यक्तिको आलोचना गरे । उनले आफूले लागेको कुरा बोल्ने तर सीपी मैनालीले जस्तो अर्को भाषा बोल्न नसक्ने बताए । ‘तपाईँहरू‘राप्रपा’को र हाम्रो विचार र मत त्यति मिल्दैन । तर, राष्ट्रिय भावना, स्वाधीनताप्रतिको निष्ठा र देशभक्ति एउटै छ, त्यसअर्थमा तपाईँ हामी उस्तै उस्तै गोत्र भनेको थिएँ मैले ।
हाम्रो विचार र दर्शन मिल्दैन’, प्रचण्डले भने, म अर्को भाषा बोल्न सक्दिन । हुन त सीपीजीले सजिलै बोलिदिनुभयो । पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो । अहिले तपाईँहरूको अगाडि महान राजा पनि भन्नुभयो । मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँच्चै त्यसै हो भने सीपीजीलाई बधाई छ ।’