एमाले महाधिवेशनमा मतदान जारी, अध्यक्ष देखि केन्द्रीय सदस्यसम्म प्रतिस्पर्धामा

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत पार्टीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ । विहान चार बजे मतदान सुरु भएको हो ।

एमाले अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले पहिलो मतदान गरेका हुन भने, अर्का अध्यक्षका प्रत्यासी भीम रावलले पनि मतदान गरिसकेका छन् । नेकपा एमालेको पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव तथा विभिन्न क्लस्टरका केन्द्रीय सदस्यका उम्मेदवार प्रतिस्पर्धामा छन् । अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् ।

एमालेका साविक अध्यक्ष केपी शर्मा ओलीले ‘सर्वसम्मत’ नेतृत्व चयन गर्न भन्दै आइतबार मध्यराति बन्दसत्रमा केन्द्रीय समिति र पदाधिकारीको सूची सार्वजनिक गरे। र, आफैंले नाम पढेर हतारहतार हलबाट अनुमोदन गराएका थिए ।

तर उनको त्यो सर्वसम्मत प्रयास आफ्नै लागि लागू हुन सकेन। किनकि उनलाई चुनौती दिँदै साविक उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिए।
त्यसपछि सोमबार बिहान बाध्य भएर निर्वाचन प्रक्रिया सुरु गरिएको थियो । यस क्रममा पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित भएका छन् । यसमा क्रमशः ईश्वर पोखरेल, शंकर पोखरेल तथा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालबाहेक अरूको उम्मेदवारी परेन ।

तर अध्यक्ष, सचिव, उपाध्यक्ष तथा केही क्लस्टरका केन्द्रीय सदस्य पदका लागि पनि निर्धारित नामभन्दा बढीले उम्मेदवारी दिएपछि चुनाव गर्नुपरेको हो । पदाधिकारीतर्फ एक अध्यक्षका लागि दुई, ६ उपाध्यक्षका लागि लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेका छन् ।

जसअनुसार अध्यक्षमा केपी शर्मा ओली र भीम रावल, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवासचन्द्र नेम्वाङ तथा सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट उम्मेदवार हुन् ।

  • १४ मंसिर २०७८, मंगलवार ०७:२८ प्रकाशित