एमाले अध्यक्षमा निर्विकल्प ओली विरुद्ध प्रतिस्पर्धा गर्दै रावल, अन्य पदमा पनि चुनाव हुन सक्ने

केन्द्रभाग मिडिया

चितवन ।

सर्वसम्मतिको नाममा पदाधिकारीसहित आफू अनुकुलको केन्द्रीय कमिटी घोषणा गरे पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तत : प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिने भएपछि एमाले महाधिवेशनमा अध्यक्ष पदमा पनि निर्वाचन हुने स्थिति आएको हो ।

अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो । सोमबार बिहान मनोनयन दर्ताको कार्यक्रम छ । त्यहाँ अध्यक्षमा रावलले उम्मेद्वारी हाल्दैछन् । आइतबार मध्यरात नै उनले फारम लगेर भरिसकेका छन् ।

अब अध्यक्ष ओलीले प्रस्ताव गरेको पदमा संख्या भन्दा बढी उम्मेदवार परे ती पदहरूमा चुनाव हुन्छ । नेता घनश्याम भुसाल पनि सहमतिको प्रस्तावमा समेटिएका छैनन् । त्यसैले उनले पनि उपाध्यक्षमा उम्मेदवारी दिने सम्भावना छ । उनले उम्मेदवारी दिए उपाध्यक्ष पदमा पनि निर्वाचन हुन्छ । केन्द्रीय सदस्यहरूमा पनि धेरै आकांक्षीको नाम छुटेको छ ।

  • १३ मंसिर २०७८, सोमबार ०७:११ प्रकाशित