काठमाडौं ।
अफ्रिकी मुलुक केन्यामा नेपाली युवतीको तस्करी गर्ने क्यानेडियन तस्करलाई कैद सजाय तोकेकोे छ ।
तस्कर असिफ अमिरेल अलीबई जेथलाई केन्याको मोम्वासा अदालतले ३० वर्षको जेल सजाय तोकेको हो । उनलाई सन् २०१९ मा १२ नेपाली युवतीलाई गैरकानुनी रुपमा आफ्नो डान्स क्लबमा नृत्य गर्न लगाइएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
अदालतले विदेशी नागरिकलाई मानव तस्करी गरी श्रम इजाजत नलिई काममा लगाएको ठहर गर्दै जेल सजाय र १० लाख केन्याली मुद्रासम्म जरिवाना तोकेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अदालतले उनलाई १२ नेपाली युवतीलाई बन्धक बनाएर शोषण समेत गरेको ठहर गरेको छ ।
केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेका छन् । एउटा युवती पठाएबापत एजेन्टलाई ५० हजार रुपैयाँ दिने गरिएको छ ।
नेपाली युवतीलाई नेपालबाट स्थलमार्ग हुँदै भारत र त्यहाँबाट यूएई हुँदै केन्या पुर्याउने गरिन्छ । मासिक डेढ लाख रुपैयाँसम्म कमाइ हुने लोभ देखाएर लगिने युवतीलाई डान्सबारका मालिकले बन्दीको हैसियतमा राख्ने गर्छन् ।