एमाले लक्षित गगनको टिप्पणी : नारायणी किनारमा ‘बा’ को पाउमा तेल लगाउने मात्र छन्

केन्द्रभाग मिडिया

काठमाडौं  ।
नेपाली कांग्रेसका नेता गगन थापाले एमाले चितवनबाट एमाले नराम्रोसँग बरालिएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘नारायणीको किनारमा कोही पनि मानिस स्वतन्त्र छैन ।  त्यहाँ ‘बा’को पाउमा तेल लगाउने प्रतिस्पर्धा चलिरहेको छ । त्यो प्रतिस्पर्धामा भाग लिन्नँ भनेर उठेको मान्छे जम्मा एक जना हो–भीम रावल, भीम रावलले झन्डै कुटाई खाएर अहिले उनलाई हाम्रो प्रहरीले सुरक्षा दिइरहेको छ । विधिवत् रुपमा नेकपा एमालेबाट हिजोदेखि जनवाद सकियो । त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ’ भनेका छन् ।

उनले एमालेले महाधिवेशनबाट लिएको राष्ट्रिय राजनीतिको कार्यदिशा, नीति र योजनाहरूलाई कांग्रेसले नजिकबाट हेर्नुपर्ने जरुरी रहेको बताए । कांग्रेसले चितवनबाट फर्किँदै गरेको एमालेसँग चुनाव अघि नै भिड्न सक्ने ताकत जम्मा गर्नुपर्ने उनको भनाई छ ।

‘चितवनबाट फर्किएको एमालेसँग चुनावमा होइन, त्योभन्दा अगाडि नै जुध्न सक्नुपर्ने मैले देखिरहेको छु । यो प्रजातन्त्र, यो संविधान र यो व्यवस्था जोगाउन जुध्नुपर्ने छ । त्यसैका लागि कांग्रेसले सिंगो पार्टीलाई जुरुक्क उचाल्न सक्ने नेतृत्व यो महाधिवेशनले ल्याउन सकेन भने त्यसको मूल्य कांग्रेसले मात्रै होइन, प्रजातन्त्रले, संविधानले, यो व्यवस्थाले र सबैले चुकाउनुपर्नेछ,’ नेता थापाले भने ।

  • १२ मंसिर २०७८, आईतवार १४:३२ प्रकाशित