पौडेल पक्षको दबदबा भएको कास्कीमा देउवा पक्षका बराल कसरी निर्वाचित ? यस्तो छ कारण

केन्द्रभाग मिडिया

विमल तिवारी
पोखरा ।

(समाचार टिप्पणी)

नेपाली कांग्रेस कास्कीमा निर्वाचित किशोरदत्त बरालले उम्मेद्वारी सार्वजनिक गर्दा भनेका थिए, ‘म गुटरहित कांग्रेस हुँ । यो वा त्यो पक्ष भन्ने मेरो छैन ।’ उनले यसो भन्दै गर्दा उनको साँक्षी थिए कांग्रेसका पुराना नेता खेमराज पौडेल । खेमराज पौडेल कास्कीका ति इमान्दार नेता मानिन्छन्, जसले देउवा पक्षमा लागेकै कारण कुनै पद पाउने अबस्था नै रहेन । भलै यस कास्की क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उनले विद्या भट्टराईसंग संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न पाएका थिए ।

देउवा पक्षेका पुराना नेता पौडेललाई साँक्षी राख्दा नै पुष्टि हुन्थ्यो बराल देउवा पक्षका हुन् । उनलाई देउवा पक्षका भन्दा पनि अहिले कास्की कांग्रेसमा उनी विमलेन्द्र निधी निकट रहेको बताउने गरिएको छ । शुक्रबार सम्पन्न कांग्रेस कास्कीको निर्वाचनमा सभापतिको प्रतिस्पर्धामा देउवा पक्षका बराल एक्ला र पौडेल पक्षका भनिएका चार जना (आइबहादुर गुरुङ, सुदिपमोहन भट्टराई, पोषनाथ शर्मा र गिरिराज गौतम) प्रतिस्पर्धामा थिए ।

कास्की कांग्रेसको बहालवाला उपसभापति गुरुङ, बहालवाला सचिव सुदिपमोहन भट्टराई, पूर्व सचिव पोषनाथ शर्मा र आफैमा प्रभावशाली बताइएका गिरिराज गौतम जस्ता पौडेल पक्षीय प्रतिस्पर्धी अगाडि खासै पदीय अबसर नपाएका बरालको अवस्था निरिह नै थियो  । जुन पहिलो चरणको मतदानमा उनले सबैभन्दा धेरै मत ल्याएपनि प्रष्ट हुन्थ्यो ।

पहिलो चरणको मतदानमा बरालले जम्मा ६४४ मत ल्याएका थिए । उम्मेद्वार मध्ये सबैभन्दा धेरै मत ल्याएपनि पक्षधरका हिसावले उनको यो मतलाई देउवा पक्षको कम्जोर मत भन्दै पौडेल पक्षकै नेताहरुले बताएका थिए । उनको विपक्षमा उनको भन्दा डबल १३२८ (सुदिपमोहन भट्टराईले ४६९, आइबहादुर गुरुङ ४६२, पोषनाथ शर्मा ३३५ र गिरिराज गौतमले ६२) मत थियो ।

यत्रो मत बोकेको विपक्षी (सुदिपमोहन भट्टराई) दोस्रो चरणको मतदान हुँदा पराजित बन्यो र किशोरदत्त बराल सभापतिमा निर्वाचित भए । जवकी प्रतिस्पर्धा बाट बाहिरिएका गुरुङ, शर्मा र गौतमले भट्टराईको पक्षमा मत दिन अपिल नै जारी गरेका थिए ।

भड्किएका प्रतिनिधि र टेष्टेड अनुहार

कांग्रेस कास्कीको राजनीतिमा लामो समय केन्द्र कांग्रेसमा विगतको संस्थापन पक्ष र हालको संस्थापन इतर पक्षेको हावी छ । यो पक्षको सबैकुरा यहाँका कार्यकर्ताले गहिरोसंग नियालेका र अनुभव गरेका छन् । अन्तिरिक कचिंगलमा रुमलिने यो समूह बाहिर देखिँदा भने एक बन्न खोजेजस्तो हुने तर, भित्रभित्रै घाटप्रतिघातमा चलिरहने गरेको नेताहरुले नै स्विकार गरेको विषय हो ।

अहिले त्यसको परिणाम मात्र देखिएको टिप्पणी गरिएको छ । पौडेल समूहका नेताहरु एकै ठाउँमा अन्तिममा आउनु थियो भने सुरुमा अडान किन लिएको भन्ने प्रश्नको जवाफ पौडेल समूहबाट निर्वाचनमा लडेका चारै जना सभापति आकांक्षीले दिन सकेनन् । जसले गर्दा मतदाता प्रतिनिधि बेखुस् देखिए ।

त्यति मात्र होइन दौडबाट बाहिरिएका तीन प्रतिनिधिले निकालेको बक्तब्यले झनै प्रतिनिधिलाई आक्रोसित बनायो । उनीहरु मतदान स्थलमै भन्दै थिए ‘यिनिहरुको दास हो हामी ? यिनहरु जे भन्छन् त्यही मान्नलाई । आज विज्ञप्ति निकाल्नु थियो भने किन पहिले नै एक जुट भएर नआएको ?’ विज्ञप्ति एक प्रकारले देउवा पक्षलाई नै पृष्टपोषण गर्यो । जसका कारण मतसंख्या थोरै भएपनि देउवा पक्षले सहानुभुति बटुल्ने अबसर पायो ।

अर्को कारण हो , टेस्टेड अनुहार । पार्टीको नेतृत्व नगरेको भएपनि नेतृत्वकै वरपर रहेर उपसभापति भई काम गरेका गुरुङ, सचिव भएर काम गरेका भट्टराई, पूर्व सचिव भएर काम गरेका शर्माले आफ्नो कार्यकालमा कत्तिको प्रभाव देखाए भन्ने पनि कास्की कार्यकर्ताले मुल्यांकन गरेर बसेका थिए ।

त्यसैको परिणाम पनि उनीहरुप्रति सहानुभुति प्रकट भएन । जसका कारण नयाँ अनुहार, जसले विगतमा अबसर प्राप्त गरेको थिएन । अहिले अबसर दिउँ भन्ने प्रतिनिधिलाई लाग्यो र देउवा पक्ष भएपनि किशोरदत्तलाई प्रतिनिधिले मत दिएर जिताइदिए । अर्को निराशाकै कारण १६२ जना प्रतिनिधिले पहिलो दिन मतदान गरेपनि दोस्रो दिनको मतदानमा सहभागिता जनाएन् । यि मध्ये अधिकांस पौडेल पक्षका रहेका जनाइएको छ ।

  • १२ मंसिर २०७८, आईतवार १२:२४ प्रकाशित