एमालेमा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको घोषणा गर्ने, प्रतिनिधिले ध्वनी मतबाट समर्थन गर्ने !

केन्द्रभाग मिडिया

File photo

चितवन ।
नेकपा एमालेमा बन्दसत्रले सबै अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गरेसँगै निर्वाचन नगरी नेतृत्व घोषणा गर्ने तयारी भएको छ ।

बन्दसत्रले दिएको जिम्मेवारी अनुरुप अध्यक्ष ओलीले तयार पारेको सुचि आज पेस गर्ने र सहभागीले ध्वनी मतले पास गर्ने तयारी गरिएको एमालेका एक नेताले जानकारी दिएका छन् । ‘अध्यक्ष कम्रेडले पक्कै सुचि तयार पारिसक्नुभएको छ । उहाँले आज बन्द सत्रमा त्यसलाई प्रस्तुत गर्नुहुन्छ । त्यसैलाई महाधिवेशन प्रतिनिधिले ध्वनी मतले पास गर्नुहुन्छ’ उनले भने ।

यसका लागि अहिले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावललाई मनाउने अन्तिम प्रयास जारी राखिएको उनले बताए । ‘हामी भीम रावल कम्रेडको पनि सहमतिमा नेतृत्व घोषणाको पक्षमै छौं । त्यस अनुसार सहमतिको प्रयास भइरहेको छ । भीम रावल कम्रेड र अध्यक्ष ओली कम्रेडको बीचमा सकेसम्म भेटाएरै सहमति गराउने प्रयास जारी छ’ ति नेताले भने ।

एमाले संस्थापन पक्षका नेताको दाबी अनुसार संसदमा सभामुखले निर्णयार्थ प्रस्ताव पेश गरेजस्तै अध्यक्ष ओलीले नाम प्रस्तुत गर्नेछन् । ‘हुन्छ’ र ‘हुन्न’ भनेर प्रस्ताव लैजाने र हलले ताली पिटेर त्यसलाई अनुमोदन गरिने उनले बताए ।

सकेसम्म भीम रावललाई मनाउने नमाने बहुमतको ध्वनी मत अनुसार सर्वसम्मत घोषणा गरिने उनको भनाई छ । उनले एमालेमा निर्वाचनको संभावना अब टरिसकेको दाबी गरे ‘अन्तिमसम्म भीम रावल कम्रेडलाई मनाउने प्रयास हुने छ । नभए ध्यनी मतले सर्वसम्मत घोषणा हुने संभावना नै धेरै देख्छु’ उनले भने ।

  • १२ मंसिर २०७८, आईतवार ११:०१ प्रकाशित