कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिदैँ : यी देशबाट नेपाल आउने यात्रु क्वारेन्टीन बस्नुपर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन खतरनाक रहेको भन्दै विश्वका विभिन्न देशले सर्तकर्ता अपनाउन थालेका छन् ।

बेलायतले अफ्रिकी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाए सँगै अन्य देशले पनि प्रतिबन्ध लगाउन सुरु गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमणको जोखिम उच्च रहेको बताउँदैँ भेरिअन्ट अफ कन्सर्न घोषणा गरेपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाउनुका साथै निगरानी बढाएका छन्।

यो सँगै नेपाल सरकारले पनि यसतर्फ ध्यान दिन थालेको छ ।कोरोनाभाइरसको अत्यधिक उत्परिवर्तन क्षमताको ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीन राख्ने निर्णय गरेको छ ।

नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साताको क्वारन्टीन अनिवार्य गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले बताएका छन्।हालसम्म हङकङ, बेल्जियम र इजरेलमा यो भेरियन्ट फैलिइसकेकाले यी देश हुदैँ आउने यात्रु क्वारेन्टिनमा बस्नुपर्ने हुनसक्ने बताइएको छ । यद्यपि आज बस्ने बैठकले यसबारे निर्णय गर्ने बताइएको छ ।

पौडेलले भने,‘हामीले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूलाई विमानस्थलमा अनिवार्य निगरानी, परीक्षण र क्वारन्टीन पठाउँछौँ। पोजिटिभ आयो भने नमुनाहरूको सिक्वेन्सिङ पनि गर्छौँ’

नेपालले खोप नलगाई आउने यात्रुहरूलाई एक हप्ताको क्वारन्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वारन्टीन अनिवार्य गरेको छैन। विदेशबाट आउने यात्रुहरूलाई विमानस्थलमा एन्टिजन परीक्षण गर्ने गरिएको छ।

दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट हालसम्म हङकङ, बेल्जियम र इजरेल सहितका देशहरूमा फैलिएको पाइएको छ।

हङकङसँग सिधा हवाई उडान रहेको नेपालले उडान स्थगित गर्ने वा नगर्नेबारे आज आइतबार बस्ने कोभिड सकंट व्यवस्थापन समन्वय समितिको बैठकबाट निर्णय गर्ने प्रवक्ता पौडेलले बताए।

खोप लगाइसकेका मानिसहरूलाई समेत सङ्क्रमणको जोखिम भएको नयाँ भेरिअन्ट भित्रन नदिन विदेशबाट आउने यात्रुहरूलाई नेपालले अनिवार्य क्वारन्टीन र दोहोर्‍याएर पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ।विज्ञहरुले विदेशबाट आउनेलाई तुरुन्तै क्वारेन्टीनको नियम सुरु गर्न, आउनेबित्तिकै र आएको पाँच सता दिनभित्र दुई चोटि पीसीआरको व्यवस्था गर्न सल्लाह दिएका छन् ।

स्थल मार्ग हुँदै आउने सीमा नाकाहरूमा पनि विगतमा जस्तो समस्या दोहोरिन नदिन अहिलेबाटै परीक्षण र क्वारन्टीनको व्यवस्थापन गर्ने तयारी सुरु गर्नुपर्ने विशेषज्ञले बताएका छन् ।

नयाँ भेरिअन्टको पहिचान नेपालमै

विगतमा कोरोनाभाइरसका उत्परिवर्तित भेरिअन्टहरूको पहिचानका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशालामा नमुना पठाइने गरिए पनि अहिले नेपालमै भेरिअन्ट पहिचान गर्ने स्रोत साधन उपलब्ध रहेको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोना भाइरसको आनुवंशिक पहिचान गर्न सकिने अधिकारीहरूले बताएका छन्।

अधिकांश देशहरुले अफ्रिका जाने वा आउने यात्रुलाई पूर्ण प्रतिबन्ध लगाएका छन् । युरोपियन सङ्घ अन्तर्गतका राष्ट्र र स्वीट्जरल्याण्डले सोमवारबाट अधिकांश दक्षिण अफ्रिकी मुलुकहरूबाट हुने उडानहरूमा रोक लगाउने निर्णय गरिसकेका छन्। दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीबाट आउने यात्रुहरूमा उनीहरू यूके वा आयरल्यान्डका नागरिक वा यूकेका वासिन्दा रहेको अवस्था बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ।

अमेरिकाले पनि सोमवारबाट लागु हुने गरी दक्षिण अफ्रिकाका ७ देशबाट आउने आफ्ना नागरिक बाहेकका यात्रुलाई प्रतिबन्ध लगाएको छ।
अस्ट्रेलियाले अफ्रिकी देशहरूसँगको उडान १४ दिनका लागि बन्द गरेको छ।
जापानले अधिकांश दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई अनिवार्य १० दिन क्वारन्टीनमा राख्ने निर्णय गरेको छ।
छिमेकी भारतले दक्षिण अफ्रिका र हङकङ सहितका देशहरूबाट आउने यात्रुहरूमाथि निगरानी बढाउन निर्देशन दिएको छ।
इरानले ६ वटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ।
ब्रजिलले पनि ६ वटा दक्षिण अफ्रिकी देशहरूबाट आफ्नो देशमा हुने यात्रामा प्रतिबन्ध लगाएको जनाएको छ।
क्यानडाले दक्षिण अफ्रिकी देशहरूमा विगत १४ दिनको अवधिमा यात्रा गरेका विदेशीहरूलाई प्रवेशमा रोक लगाएको छ।
थाइल्यान्डले ८ वटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ।

  • १२ मंसिर २०७८, आईतवार ०९:२४ प्रकाशित