युआरएलको आयोजनामा दमौलीमा स्वास्य शिविर

केन्द्रभाग मिडिया

पोखरा ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले तनहुँको दमौलीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा ३०७ जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ ।

कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा. नरेश पराजुलीले मधुमेह र टिजी हुनुका कारण र यी समस्या भएपछि अपनाउनुपर्ने सावधानी र परिवर्तन गर्नुपर्ने जीवनशैलीबारे प्रकाश पारे ।

हाल शिक्षण अस्पताल काठमाडौंमा कार्यरत डा पराजुलीले अहिले विश्वमा १० जनामध्ये १ जनामा मधुमेह देखिएको तथ्यांक प्रस्तुत गर्दै जीवनशैली परिवर्तन गर्दै स्वस्थ जीवन बाच्न र बेला बेलामा चेकचाँज गराउन सल्लाह दिए । मधुमेहले अनेक समस्या निम्त्यिाउने उल्लेख गर्दै डा पराजुलीले भने, ‘लक्षण देखिँदासम्म रोग जटिल भइसकेको हुन्छ ।

मधुमेहमा लापरवाही भए आँखा, मिर्गाैला र मुटु यसले बिगार्न सक्छ ।’ शरीरको तौल आवश्यकताभन्दा धेरै हुन नदिन, नियमित व्यायम गर्न र स्वस्थ्य जीवनशैली अपनाउन उनले अनुरोध गरे ।

जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्तिरमण वाग्लेले अत्याधुनिक सेवासँगै बेला बेलामा निशुल्क शिविर आयोजना गरी युआरएलले सामाजिक दायित्व निर्वाह गरेको बताए । उनले राज्य र निजी क्षेत्र दुवै मिलेरमात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिने उल्लेख गरे ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले गण्डकी प्रदेशको पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले आफूहरुले यो क्षेत्रमा सामाजिक उत्तरदायित्व र सेवाको नेतृत्व गरिरहेको बताए । उनले अहिलेसम्म विभिन्न संघ, संस्थासँगको सहकार्यमा युआरएलले १ सय ५ शिविर गरिसकेको जानकारी दिए ।

युआरएलको वार्षिकोत्सव मंसिर २३ गते हुँदै छ । सोही समारोहमा युआरएल पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार हरिप्रसाद बास्तोलालाई सम्मान गर्ने कार्यक्रम छ । यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।

  • ११ मंसिर २०७८, शनिबार २०:२१ प्रकाशित