एमाले महाधिवेशन : चार नेताको टकरावले तनावमा ओली

केन्द्रभाग मिडिया

File photo

पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहकै चार नेता बीच टकराव हुँदा एमालेमा नेतृत्व छान्ने प्रक्रिया जटिल मोडमा पुगेको छ ।

गोदावरीमा सम्पन्न विशेष विद्यान महाधिवेशनले निर्धारण गरेको एमाले केन्द्रीय कमिटीको संख्यामा बृद्धि गर्दै सहमतिको प्रयास गरेका अध्यक्ष ओलीलाई निकटका नेताहरुले नै अडान लिएपछि नेतृत्व चयनमा सकस परेको एमालेका एक नेताले जानकारी दिए । ‘अध्यक्ष कंम्रेडकै विश्वास पात्र बीच कुरा मिलेन, जसका कारण पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएपनि नेतृत्व चयन प्रक्रिया जटिल मोडमा पुगेको हामीले महसुस गरेका छौं,’ ति नेताले भने ।

उनका अनुसार पटक पटक छलफल गर्दा पनि नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल अडानबाट दायँबायाँ भएका छैनन्।एमालेमा अध्यक्ष ओलीलाई उपाध्यक्ष भीम रावलले चुनौती दिएका छन् । वरिष्ठ उपाध्यक्षमा अध्यक्ष ओलीले अगाडि सारेका वर्तमान महासचिव ईश्वर पोखरेल ढुक्क भएको अवस्था नेम्वाङले चुनौती दिएका छन्।

ओलीसँगको छलफलमा पोखरेल र नेम्वाङ दुवै वरिष्ठ उपाध्यक्ष छाडेर अन्य पदमा सम्झौता गर्न तयार नभएको बताइएको छ। यसैगरी महासचिव पदका लागि शंकर पोखरेल र विष्णु पौडेल अडान छाडेका छ्रैनन् । लुम्बिनीका प्रभावसाली यि दुवै नेता अध्यक्ष ओलीका विश्वासपात्र हुन्।

आफ्नै समूहका नेताहरु सहमतिका लागि तयार नभएपछि प्रक्रिया अघि बढाउन अहिले अध्यक्ष ओली सेभेन स्टार होटलस्थित बन्दसत्रस्थलमा आइपुगेका पुगेका छन्।

ओलीले सहमतिका लागि भएको आफ्नो प्रयास बन्द सत्रमा २३ सय महाधिवेशन प्रतिनिधिलाई जानकारी गराउने भएका छन्। यदि सहमति नभएमा निर्वाचनबाटै नेतृत्व चयन गर्ने निष्कर्षमा उनी पुगेका जनाइएको छ ।

पूर्व माओवादीदेखि १० भाइ भित्रका समेत नेताले सहमतिबाटै नेतृत्व छानेमा मात्रै एमाले बलियो हुने भन्दै लबिङ गरिरहेका छन् । जसका कारण पनि अध्यक्ष ओली निकै दबाबमा परेका हुन् । अध्यक्ष ओलीले शुक्रबार मध्यराती चार पदाधिकारी र करिब ७५ जना केन्द्रीय सदस्य थप्ने निर्णय केन्द्रीय कमिटीबाट गरे पनि एमालेको नयाँ नेतृत्व छान्ने प्रक्रिया जटिल बनेको हो।

  • ११ मंसिर २०७८, शनिबार १३:३८ प्रकाशित