विमतीलाई संवैधानिक विधिमार्फत टुंगो लगाउनुपर्छ: प्रधानमन्त्री देउवा

केन्द्रभाग मिडिया

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मुद्दाहरूमा समान धारण बनाउन संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्। देउवाले राजनीतिक दलहरूबीचमा रहेका नीतिगत विमतीलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउनुपर्ने बताए ।

एमालेको दसौं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले सबै राजनीतिक दलहरू संवाद गरेर अगाडि बढ्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले भने, हामीबीच नीतिगत विषयमा रहेका विषयका विमतिहरूलाई संविधानले निर्धारण गरेका विधिमार्फत टुंगो लगाउने र त्यसलाई हामीले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ । सरकार र कांग्रेस ती मूल्य र मान्यतामा प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री देउवाले बताए ।

देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू ‘जेलमेट’ भएको बताए लोकतन्त्र स्थापनाका लागि ओलीसहित धेरै वामपन्थी नेताहरूसँगै आफू पनि जेल बसेको स्मरण गरे ।

‘केपी ओलीजीलगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौं । हामी जेलमेट पनि हौं । हामीले सँगै दुःख भोगेका हौं । हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दुस्ख नपाउन् भन्नेमा हामी केन्द्रित हुनुपर्छ’, देउवाले भने ।।

  • १० मंसिर २०७८, शुक्रबार १५:०० प्रकाशित