मदिराको मातमा एयरपोर्टका कर्मचारी कुट्ने रेग्मीमाथि राजनीतिक दबाबका कारण कारबाहीमा भएन

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीमाथि स्पष्टीकरण सोधिएपनि कारबाही भने भएको छैन ।

रेग्मीले बिदेशबाट ल्याएको ६ बोतल मदिरा नेपाल छिराउन नदिएको निहुँमा एयरपोर्टमा भन्सारका नायब सुब्बालाई कुटेका थिए । उनीमाथि स्पष्टीकरण सोधिएपनि राजनीतिक उच्च दबाबमा कारवाहीमा आलटाल हुन थालेको छ।

स्रोतका अनुसार राजनीतिक रुपमै यो मुद्दालाई मिलाउन खोजिएको छ। कुटाइ खाने थापा पनि एमाले निकट कर्मचारी रहेको र कुट्ने रेग्मी पनि एमाले सरकारबाटै सीइओ नियुक्त भएका कारण राजनीतिक रुपमा मिलाउन खोजिएको बताइएको छ ।

उनले भन्सार कर्मचारीलाई कुटेको सीसीटीभी फुटेज पनि सार्वजनिक भइसकेको छ। लण्डनको एक कार्यक्रम सकेर फर्किने क्रममा रेग्मीले भन्सार कर्मचारी सुमन थापालाई कुटेका हुन्।

थापाले एक ब्यक्तिले एउटा मात्र मदिरा ल्याउन पाउने बताउँदा रेग्मीले म को हुँ चिनेको छस्, देश बनाउने मान्छेलाई रोक्छस् भनेर कुटेका थिए। रेग्मीले होसमै नरहने गरि मदिरा पिएको स्वास्थ परीक्षणबाट पुष्टीसमेत भएको थियो।

भन्सार कर्मचारीलाई हातपात गरेपछि उनले ल्याएको मदिरा सीज गरिएको थियो भने अधिकतम पाँच हजार जरिवाना गराएर छाडिएको थियो। भन्सार कर्मचारीलाई मदिरा छिराउन नदिएको निउँमा कुटेको सार्वजनिक भएपछि उनले पर्यटन मन्त्री, सचिव, अन्य उच्च कर्मचारीको मदीरा आफूले बोकेको बताएका थिए।

मदिरा नै नपिउने सचिवको समेत नाम लिएपछि पर्यटन मन्त्रालयले जिम्मेवार पदमा बसेर नैतिकहिन काम गरेको भन्दै रेग्मीसँग स्पष्टीकरण सोधेको थियो। सुरुमा मौखिक र पछि लिखित स्पष्टीकरण सोधिए पनि थप कारवाहीमा आलटाल गरिएको छ।

उनी एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पर्यटन बोर्डको सीइओ नियुक्त भएका हुन्। भन्सार कर्मचारी कुटेर स्पष्टीकरण सोधिएपछि उनी विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन्।

स्पष्टीकरणबारे मन्त्रिस्तरीय छलफल गरेर कारवाही अगाडि बढाउने भनिए पनि हालसम्म कुनै पनि छलफल नभएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
पर्यटन मन्त्रालयले मागेको स्पष्टीकरणमा सिइओ रेग्मीले आफू अनिँदो भएका कारण धकेलाधकेल मात्र भएको भन्दै माफी मागेका थिए।

पर्यटन मन्त्रालयले मागेको स्पष्टीकरणमा सिइओ रेग्मीले आफू अनिँदोका कारण धकेलाधकेल भएको भन्दै माफी  मागेका थिए।

  • ९ मंसिर २०७८, बिहीबार १०:०८ प्रकाशित