घाँटी रेटिएको अवस्थामा वृद्धको शव भेटियो

केन्द्रभाग मिडिया

सप्तरी ।

सप्तरीमा एक वृद्धको घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।

छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको हो।

धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज लगिएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र आज परीक्षण हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

छिन्नमस्ता–६ खुदीबखारीमा रहेको छिन्नमस्ता सडकखण्डको झौखराही नामक फूलबारीमा बुधबार अपराह्न शव फेला परेको थियो । घाँटी रेटिएको अवस्थामा शव फेला परेपछि प्रनाउ काफ्ले नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले धारिलो हतियार प्रहार गरी घाँटी रेटेको देखिएको जनाएको छ । प्रनाउ काफ्लेका अनुसार अहिलेसम्म केही खुलेको छैन ।

हत्या प्रकरणको सूक्ष्म अनुसन्धान भइरहेको जनाउँदै आवश्यक परे प्राविधिकसहितको विज्ञ टोली मगाइने उनले बताए ।

  • ९ मंसिर २०७८, बिहीबार ०९:२५ प्रकाशित