विद्यालयलाई उद्यम स्थल बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका छन् ।

बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका हुन् ।

‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुप¥यो । विद्यालय उद्योग हुनुप¥यो’, मन्त्री शर्माले भने, ‘एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुप¥यो ।’ उनले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताए ।

त्यसका लागि शिक्षक र शिक्षक संगठनले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पुँजी निर्माण हुने भन्दै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताए ।

यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उनको भनाइ छ । सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उनले बताए । ‘विद्यालयको पुँजी भनेको सामुदायिक हुन्छ’, उनले भने, ‘त्यस्तै किसिमको अरू सामुदायिक पुँजी निर्माण गर्ने समूह/समुदाय बनाउनुपर्छ ।’ त्यसमा व्यक्तिगत सम्पत्ति आर्जन गर्न रोक नहुनेसमेत उनले स्पष्ट पारे ।

मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्ने बताए । उनले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको बताउँदै सो धारणा राखेका हुन् । ‘अब ठुलो/मेगा विद्यालय बनाउनुपर्छ र त्यहीँ शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ’, उनले भने, ‘त्यसो गर्दा शिक्षा क्षेत्रमा गुणात्मक असर पार्छ ।’

उनले एकै ठाउँ हजारौँ विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सोअनुसार केन्द्रिकृत गर्नुपर्ने बताए । पछिल्लो समय केही स्थानबाहेक सडक पूर्वाधार विकास भएकाले त्यो सम्भव हुने उनको भनाइ छ ।

  • ८ मंसिर २०७८, बुधबार १६:५६ प्रकाशित