अब मतदाता नामावलीमा नाम दर्ता गर्न गृहजिल्ला जान नपर्ने: नाम कसरी दर्ता गराउने ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

अब मतदाता नामावलीमा नाम दर्ता गर्नकै लागि मतदाता गृहजिल्ला जान नपर्ने भएको छ ।

गृहजिल्ला छाडेर कर्मका लागि बाह्य जिल्लामा बस्ने मतदाता काम धन्दा छाडेर नाम दर्ता गर्न जानुपर्ने झन्झटलाई मध्यनजर गर्दै  निर्वाचन आयोगले अब मतदाता बस्ने अस्थायी जिल्लामै नाम दर्ता गर्न सक्ने व्यवस्था गर्न लागेको हो ।

आयोगका अनुसार अब मतदाता बस्दै आएको ठाउँ वा जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गराउन सकिनेछ । यसअघि मतदान गर्नका लागि मात्रै नभई मतदाता नामावलीमा दर्ता हुनका लागि पनि मतदाताहरू साबिककै जिल्ला धाउनुपर्ने बाध्यता थियो।

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले अब त्यो अवस्थाको अन्त्य हुने बताएका छन् । बीबीसीसँग कुरा गर्दै धमलाले भनेका छन्,‘ अस्थायी रूपमा आफू बस्दै आएको जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गराउन सकिनेछ,’

नाम कसरी दर्ता गराउने ?

त्यसका लागि सम्बन्धित व्यक्ति आफ्नो नागरिकताको प्रमाणपत्र लिएर जिल्ला निर्वाचन कार्यालय जानुपर्ने हुन्छ।आयोगले यही मंसिर महिनाको मध्यबाट आरम्भ हुनेगरी त्यस्तो व्यवस्था मिलाउन लागेको सहायक प्रवक्ता धमलाले बताए।

‘त्यसो गर्न लाग्नुको उद्देश्य मतदान गर्न योग्य हुँदाहुँदै जिल्लाबाहिर भएकोले मतदाता नामावलीमा नाम लेखाउन छुटेर मतदानबाट कोही पनि वञ्चित नहोऊन् भन्ने हो,’ उनले भने।

साथै निर्वाचन आयोगले मंसिर १७ गतेबाटै मतदाता नामावली दर्तासम्बन्धी एकमहिने विशेष अभियान पनि सञ्चालन गर्न लागेको छ।

  • ८ मंसिर २०७८, बुधबार १०:०९ प्रकाशित