सरकारमा हुदाँ विरोधीका कारण चाहेर पनि द्वन्द्व पीडितको पीडा सम्बोधन गर्न सकिन :ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीका कारण चाहेर पनि द्वन्द्व पीडितका पीडा सम्बोधन गर्न नसकेको दाबी गरेका छन् ।

ओलीले आफू सरकारमा हुँदा द्वन्द्वबाट पीडित भएका नागरिकले भोग्नुपरेका पीडाको सम्बोधन गन सचेत प्रयत्न गरे पनि द्वन्द्वमा प्रत्यक्ष संलग्न राजनीतिक पक्षहरूको अनिच्छा र परस्पर विरोधी अडानका कारण चाहेर पनि सम्बोधन गर्न नसकिएको बताएका हुन् ।विस्तृत शान्ति सम्झौता भएको पन्ध्र वर्ष पूरा भएको अवसरमा आज विज्ञप्ति जारी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले द्वन्द्वकालमा भएका मानवता विरोधी ज्यादती र मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा आफु सहमत हुन नसक्ने उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले एमाले सत्य, न्याय, परिपूरण र रूपान्तरणमुखी शान्तिको प्रक्रियाद्वारा समाजमा मेलमिलाप र स्थायित्व कायम राख्नुपर्ने पक्षमा रहेको उल्‍लेख गरेका छन् ।द्वन्द्वका कारण उत्पन्न पुराना घाउहरूमा मल्हमपट्टी गर्दै द्वन्द्वका ठोस कारणको खोजी गनुपर्ने र तिनको यथोचित सम्बोधनद्वारा भविष्यमा द्वन्द्व नदोहोरिने अवस्था सुनिश्चित गर्नुपर्नेमा ओलीको जोड छ ।

नेपालको संक्रमणकालीन न्यायलाई पनि नेपाली नेतृत्वमा तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने मान्यता आफू रहेको उनको भनाइ छ । द्वन्द्वका दौरान पीडा भोग्न बाध्य पारिएका नागरिक र समाजलाई सत्यको जानकारी गराउने, न्याय सुनिश्चित गर्ने, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य विधिबाट स्मरण, सम्मान र औषधोपचार सहितको परिपूरणको व्यवस्था गरी मेलमिलापको भावना अभिवृद्धि गर्नुपर्ने विज्ञप्‍तिमा उल्‍लेख छ ।

  • ५ मंसिर २०७८, आईतवार ०९:५७ प्रकाशित