कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने महेश आचार्यको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौँ ।
कांग्रेस नेता महेश आचार्यले पार्टीको केन्द्रीय उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आचार्यले आसन्न १४ औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
‘मैले पार्टीको उपसभापतिमा उम्मेदवारी दिन्छु । यही विषयमा अहिले साथीभाइहरूसँग छलफल गरिरहेको छु,’ आचार्यले भने ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाबाट प्रभावित आचार्य कांग्रेसभित्र विचार र निष्ठाको राजनीति गर्ने नेताका रुपमा प्रतिष्ठित छन् । कांग्रेसको विधानले पार्टीको उपसभापति केन्द्रीय नीति, अनुसन्धान र प्रशिक्षण विभागको प्रमुख रहने व्यवस्था गरेको छ ।

नेता आचार्यले पार्टीलाई वैचारिक रुपले सशक्त बनाउन त्यही विभागमा बसेर नीति, अनुसन्धान र प्रशिक्षण कार्य गर्ने उद्देश्यले उपसभापतिमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए । ‘हाम्रो पार्टीको विधानमा उपसभापतिले गर्नुपर्ने एउटा भूमिका छ ।

पार्टीको नीति, अनुसन्धान र प्रशिक्षणमा उपसभापति भूमिका हुन्छ । अहिले पार्टी वैचारिक हिसाबले कमजोर बन्दै गइरहेको छ । यस्तो बेलामा म पार्टीको त्यो संरचनामा बसेर पार्टीलाई वैचारिक रुपले सशक्त बनाउन चाहन्छु,’ आचार्यले भने, ‘त्यहीअनुसार साथीहरूसँग सल्लाह गरिरहेको छु ।’ इकान्तिपुरबाट साभार

  • २ मंसिर २०७८, बिहीबार १६:४९ प्रकाशित