ओलीविरुद्ध अध्यक्षमा उम्मेद्धवारी दिने भीम रावलको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

१०औं महाधिवेशनको संघारमा रहेको एमालेले यसपटक सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भनिरहेको छ । त्यसको सन्देश देशभरिबाट सहमतिमै महाधिवेशन प्रतिनिधि चयन गरेर दिईसकेको छ । तर, अध्यक्षमा यसपटक उपाध्यक्ष डा. भीमबहादुर रावल मैदानमा उत्रिने भएका छन् । यही मंगलबार महाधिवेशनलक्षित छलफलको लागि रावल अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित् निवास पुगेका थिए ।

रावलले अध्यक्ष ओलीसँग करिब २ घण्टा छलफल गरेका थिए । उक्त छलफलमा रावलले दश बुँदे सहमति कार्यान्वयनदेखि महाधिवेशन प्रतिनिधि छनौटबारे आफ्नो धारणा राखेका थिए । तर, ओलीले चित्तबुझ्दो जवाफ नदिएपछि उनी निराश भएर घर फर्किएका थिए ।

रावलले यसपटक १०औं महाधिवेशनमा आफूले अध्यक्षमा उम्मेद्धवारी दिने तयारी गरिसकेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा रावलले भने– म महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिन्छु, म तयारीमा लागिसकेको छु । म कुनैप्नि हालतमा ब्याक हुन्नँ ।’ रावलले अध्यक्षमा उम्मेद्धवारी दिनुभन्दा अघि आफ्नो समूहमा रहेका नेताहरुसँग पनि छलफल गरिसकेका छन् ।

उनले आजरभोलिभित्रै उम्मेद्धवारी घोषणा गर्ने पनि जानकारी दिएका छन् । तर, अध्यक्ष ओलीनिकट युवा नेता सूर्य थापाले भने अध्यक्ष ओलीसँग टक्कर लिन चाहने नेताहरूलाई सौराहाको चिसो ख्याल गर्न आग्रह गरेका छन् । उनले ओलीसँग टक्कर लिनेहरुको जमानत जफत हुनसक्ने पनि चेतावनी दिएका छन् ।

  • २ मंसिर २०७८, बिहीबार १२:३२ प्रकाशित