पूर्ववर्ती सरकारको निर्णय बारे बेखवर गण्डकी सरकार (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस गर्ने निर्णयलाई दोहो¥याएको छ । तत्कालिन मन्त्रिपरिषद (२८ मंसिर २०७५ मा बसेको) बैठकको निर्णयको ८ नम्बर बुँदामा ‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारसँग स्वीकृति माग गर्ने सम्बन्धी प्रस्तावः– ‘प्रस्तावमा लेखिए बमोजिम गर्ने’’  निर्णय गरेको थियो । त्यहि निर्णयलाई वर्तमान कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकाले दोहो¥याएको हो ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले जानकारी दिए । पोखरालाई सबै हिसाबले देशकै पर्यटकीय राजधानी घोषणा गर्न उपयुक्त रहेकाले केन्द्र सरकारलाई पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस गर्ने निर्णय गरिएको उनले बताए ।

पूर्ववर्ती सरकारका पालामा नै भएको निर्णयलाई वर्तमान सरकारका वेला दोहोर्‍याइएको विषयमा जिज्ञासा राख्दा प्रदेश सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले अघिल्लो सरकारले गरेको निर्णयप्रति अनभिज्ञता प्रकट गरे। उनले पूर्ववर्ती सरकारले निर्णय गरिसकेको भए आफूहरूले पुनः सिफारिस नभई कार्यान्वयनमा ताकेता गर्ने बताए।

‘सरकार अविछिन्न हो। पूर्ववर्ती सरकारले निर्णय गरेको हामीलाई स्मरण भएन । कर्मचारी प्रशासनले पनि हामीलाई स्मरण गराएन।’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा मन्त्री खड्काले भने, ‘पूर्ववर्ती सरकारले निर्णय गरेको भए हामीले फेरि निर्णय गरिरहनुपरेन। हामीले किन कार्यान्वयन भएन भनेर केन्द्रलाई ताकेता गर्छौ।’

 

 

  • १ मंसिर २०७८, बुधबार १६:३४ प्रकाशित