प्रदेश १ का मुख्यमन्त्री राइले पाए विश्वासको मत

केन्द्रभाग मिडिया

काठमाडौँ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत लिएका हुन् ।

बैठकमा भएको मतदानबाट विश्वासको मतको पक्षमा ५० मत परेको छ भने विपक्षमा २९ मत परेको छ । बैठकमा ७९ जना सांसद उपस्थित थिए ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार गठन भएको थियो।

राईले मंगलबार नै विश्वासको मत लिने भनिए पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावले देखाउदै सांसद आउन नसक्ने भनेर प्रमुख प्रतिपक्षी एमालेका सांसदले मंगलबारको बैठक रोक्न माग गर्दै निवेदन दिएपछि स्थगित भएको थियो ।

प्रदेशसभामा कुल ९२ जना सांसद छन् । प्रतिपक्षी एमालेको सभामुखसहित ४१ सांसद छन् । यता विपक्षी गठबन्धनमा आवद्ध दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १० र जनता समाजवादीका तीन जना गरी ४९ जना सांसद छन् ।

  • १ मंसिर २०७८, बुधबार १४:३० प्रकाशित