एमआरपी विस्थापित गर्दै आजदेखि ई–पासपोर्ट

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले आजदेखि ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण गर्दैछ । राहदानी विभागको त्रिपुरेश्वरस्थित सभाहलमा परराष्ट्रमन्त्री नारायण खड्काले अपरान्हदेखि ई–पासपोर्ट वितरणको औपचारिक सुरुआत गर्दैछन् ।

अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको थियो । राहदानी विभागका प्रवक्ता शरदराज अरनका अनुसार विभागले केही दिनसम्म सीमितरुपमा ई–पासपोर्ट वितरण गर्ने भएको छ ।

पूर्णरुपमा ई–पासपोर्ट वितरण नभइञ्जेल अत्यावश्यक परेकालाई वा स्वेच्छिकरुपमा पनि एमआरपी वितरण पनि निरन्तर भइरहनेछ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले सुरक्षित मानेको ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा छ । यसलाई एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो भनिएको छ ।

ई– पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने विभागको भनाइ छ। सेवाग्राहीले ई–पासपोर्ट बनाउँदा एमआरपीजतिकै शुल्क तिरे पुग्नेछ।

ई–पासपोर्टमा मोबाइलको जस्तै विद्युतीय ‘चिप’को प्रयोग हुन्छ । यसमा पासपोर्टसहित व्यक्तिगत विवरण र बायोमेट्रिक डेटा पनि राखिन्छ । यो पासपोर्टलाई मेसिन र कम्प्युटरले सजिलै रिड गर्न सक्छ । यसको सेक्युरिटी फिचर पनि बलियो हुन्छ ।

ई–पासपोर्ट लागू भएपछि राहदानी दुरुपयोग हुने सम्भावना रोकिने सरकारको विश्वास छ ।

  • १ मंसिर २०७८, बुधबार ०९:०४ प्रकाशित