काठमाडौं।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरूको भागबन्डाकै दुष्परिणाम न्यायालयमा देखिएकाले उनीहरू नै सच्चिनुपर्ने बताएका छन् ।
नेता केसीले भने, “मुख्य खराबी दलहरूमा नै छ । न्यायालय, निर्वाचन आयोगदेखि राजदूतसम्म गरेको भागबन्डाको दुष्परिणाम अहिले देखिएको छ । दलहरूसहित बार र बेन्चले कमीकमजोरी स्वीकारेर त्यसलाई सच्चाउनुपर्छ ।”
आफूले आजभन्दा ६ वर्ष पहिले नै यो समस्या आउने देखेको तर त्यतिबेला आफूलाई एक्लै पारेको उनले स्मरण गरे । उनले थपे, “अदालत र न्यायप्रणाली ध्वस्त गराउन सबै पक्ष जिम्मेवार छन् । जसले गल्ती कमजोरी गरेको छ, उसले सजाय पाउनुपर्छ । न्यायाधीशले जे विरोध गरेका छन्, त्यो पनि गलत छैन । यहाँ न्यायाधीशदेखि वकिलसम्म बिचौलिया छन् । न्यायाधीशहरू घुस खान लाजघिन मान्दैनन् । अब सबैले आआफ्ना गल्ती कमजोरी नदोहोर्याउने बाचा गर्नुपर्छ ।”
आज सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक भए पनि आफू बुटवलमा पार्टीको बैठकमा रहेकाले सहभागी नहुने उनले बताए । नेता केसीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लगाउने प्रस्ताव आउने, नआउने भन्न नसकिने पनि जनाए ।
उनले थपे, “समन्वय समितिको बैठकमा हाम्रा प्रतिनिधि जानुहुन्छ । उहाँले आफ्ना कुरा राख्नुहुन्छ । महाभियोग प्रजातान्त्रिक अधिकार हो । त्यसमा गठबन्धन दलहरूको सहमति हुन पनि सक्छ र नहुन पनि सक्छ । सत्ता र शक्तिमा बस्नेले बदमासी गर्न पाइँदैन । राष्ट्र र जनताप्रति जिम्मेवार र इमानदार हुन सके यो समस्या समाधान हुन्छ ।”
संघीयता भ्रष्टाचारको अखाडा भएको भन्दै नेता केसीले यसलाई जरैदेखि उखेलेर फाल्न आफ्नो दलले कार्यक्रम ल्याउने पनि बताए ।