पोखरा : सेती किनारमा एकादशी मेला,भक्तजनको घुइँचो

केन्द्रभाग मिडिया

पोखरा ।

९५ वर्षीया टुल्की तिमिल्सीना लौरीको सहारामा सिर्जनाचोकबाट हिड्दैँ सेती किनार पुगिन् ।

उनी यसै आज सेती किनार गएकी भने हैनीन्। आज ठुलो एकादशी अर्थात हरिबोधनी एकादशीको दिन सेतीको पानीमा नुहाए पवित्र भइन्छ र वैकुण्ड तर्न सजिलो हुन्छ भन्ने विश्वासले, उनलाई यो वृद्धा अवस्थामा पनि हिडेरै सेती किनारसम्म डोर्याएको हो ।

आज बिहानैदेखि पोखराको सेती किनारमा टुल्की जस्तै धेरै भक्तजनको घुइँचो लागेको छ ।सेती नदीमा फूल तार्न ठुलो संख्यामा भक्तजन डोलीमा फूल, प्रसाद लिएर भजनकृतन, पञ्चेबाजासहित नाचगान गरेर नदीमा पुजा गरेका छन् भने सेती नदीमा तोरन तार्नेको भिड लागेको छ ।

एकादशीको दिन प्रत्येक वर्ष तुलसीघाटदेखि सेती किनारसम्म मेला लाग्ने गर्छ ।हरिबोधिनी एकादशीको दिनमा नदी तथा तलाउमा नुहाउनाले शुद्ध हुने र मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहि आएको छ । भक्तजनको आस्था र विश्वासलाई ध्यानमा राख्दैैँ एकादशीको अवसरमा आफुहरुले हरेक वर्ष नयाँबजार,तुलसीघाटदेखि सेती किनारसम्म धार्मिक मेला आयोजना गर्दै आएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रामजीप्रसाद कोइरालाले बताए ।

कोइरालाको अनुसार मेला साँझ ५ बजे सम्म लाग्नेछ । विगतका वर्षहरुमा समितिले नै मेलाको व्यवस्थापन गर्दै आइरहेकोमा यसपाली भने सेती गंगा टोल विकास संस्थाले मेलाको व्यवस्थापन गरेको संस्थाका अध्यक्ष रोशन मानन्धरले बताए ।

मेलामा पुग्ने भक्तजनलाई नेवा मिसा पुचः नयाँबजारले विगत वर्षहरुमा झै यस वर्ष पनि निशुल्क पानी वितरण गरेको उपाध्यक्ष कोपिला श्रेष्ठले बताईन ।

मेला विभिन्न आमा समुह तथा समितीहरुले सेती किनार सम्मै दानपत्र राखेका छन् । दानपत्रमा जम्मा भएको रकम हिन्दुपरम्परा अनुसारका भौतिक संरचना निमार्णमा खर्च गर्ने उनीहरुको भनाई छ ।

मेलाको अवसरमा नयाँबजार र तुलसीघाटका सडक छेउमा फलफुल तथा कन्दमुलसहित लत्ताकपडाको बिक्रीवितरण पनि भईरहको छ।

वर्षभरिमा पर्ने चौबिसवटा एकादशीमध्ये सबैभन्दा महत्वपुर्ण र ठुलो एकादशीको रुपमा हरिबोधनी एकादशीलाई लिइन्छ ।
एकादशीको दिन उपवास बसी भगवान् विष्णुको पुजा आराधना गरिन्छ ।

चार महीनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ(आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ ।

आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ ।

  • २९ कार्तिक २०७८, सोमबार १५:०४ प्रकाशित