नेपाली महिला क्रिकेट टिम बंगलादेशबाट बस चढेर नेपाल फर्किदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

मैत्रीपूर्ण क्रिकेट खेल्न बंगलादेश पुगेका नेपाली महिला क्रिकेट टोली बस चढेर नेपाल फर्किने भएका छन् ।

नेपाली राष्ट्रिय महिला टोली कोभिड परीक्षण बिनै स्वदेश फर्किन ढाका विमानस्थल पुगेपछि विमान चढ्न नपाउँदा उनीहरुलाई बस चढाएर नेपाल ल्याइने भएको नेपाल क्रिकेट संघ क्यान जानकारी दिएको छ ।

पूर्वनिर्धारित हिमालय एयरलाइन्सको उडानबाट बिहीवार नेपाल फर्किन नपाएपछि उनीहरूलाई बसमा ल्याइने भएको हो । बस भारतको बाटो हुँदै शुक्रवार नेपाल ल्याउने विकल्प रोजिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।

विमानस्थलमा उड्डयन अधिकारीहरूले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट मागेको थियो तर नेपाली टोलीसँग रिपोर्ट नहुदाँ उनीहरुलाई बसमा लिएर आउने विकल्प रोजिएको जनाइएको छ ।अर्को विमानको उडान लागिका आइतबार मात्र रहेको र सोही दिन नेपाली टोली कतार जानुपर्ने भएकाले पनि टिम बसमै आउने भएको क्यानले बताएको छ ।

खेलाडी र व्यवस्थापकसहित १८ जनाको टोली काकडभित्तासम्म झन्डै १० घण्टा बसयात्रा गरेर आइपुग्नेछ। त्यसपछि भद्रपुरबाट विमानमा काठमाण्डू आउने बताइएको छ।

विश्वकप एशिया छनोटकोप तयारीका लागि तीन मैत्रीपूर्ण खेल खेल्न नेपाली महिला टोली बंगलादेश पुगेको थियो।ढाकामा त्यहाँको बीकेएसपी क्लबसँग खेलिएका तीन खेलमा नेपाली टोलीले दुई वटामा जित हासिल गरेको थियो।

  • २६ कार्तिक २०७८, शुक्रबार १५:४८ प्रकाशित