विद्यार्थी संगठनले आयल निगमको केन्द्रीय कार्यालय घेरे, निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

आयल निगमले एक महिनामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि देशभरका विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । सरकारसँग मुल्यवृद्धि तत्काल फिर्ताको माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

शुक्रबार बिहान १० बजेबाट नेपाल आयल निगमको कार्यालय घेराउ गर्दै ती विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ताको माग गर्दै दबाबस्वरुप नारा लगाएका थिए ।

नेताहरुले आमसर्वसाधारण जनताको ढाड सेक्ने गरि मुल्य वृद्धि गरेको र सर्वसाधरण जनता तथा विद्यार्थीको चुल्हो समेत बल्न नदिने गरी एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विद्यार्थी संगठनले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गरेका छन् ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी)मा आबद्ध अनेरास्ववियुसहितका विद्यार्थी संगठनका नेताहरुले आयल निगमका भ्रष्ट कर्मचारीहरुलाई सामाजिक रुपमा बहिष्कार गर्न आह्वान समेत गरेका छन् ।

यता पोखरामा पनि हिजो एमाले निकट विद्यार्थी संगठनहरुले मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका थिए ।

  • २६ कार्तिक २०७८, शुक्रबार १३:४९ प्रकाशित