पोखरा ।
नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गरेको छ । साथै जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न सरकारसँग अपिलसमेत गरेको छ ।
पार्टीका महासचिव विप्लवले बिहीबार प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन् । महासचिव विप्लवले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचाररप्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन, दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन् ।
महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्बक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ । भर्खरै मात्र पनि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य बृद्धि गरियो । जसअनुसार रु ४७ मा आयात गरिने पेट्रोलियम रु १३३ मा बिक्रि गरिँने छ । बिज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु ७० मा बिक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ?