जबराको राजीनामा माग्दै आन्दोलन थप चर्काउने बारको तयारी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अझै राजीनामाका लागि सुरसार नगरिरहँदा नेपाल बार एसोसिएसनले अर्को चरणको आन्दोलन चर्काउने भएको छ । तिहार अघिबाटै आन्दोलन गरिरहेको बारले विरोध कार्यक्रमलाई अझ शसक्त बनाउने भएको हो ।

बारले आज बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन गर्ने भएको छ । बारले गएको बुधवारसम्म दिइएको अल्टिमेटमा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी गरेको हो ।

बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि १७ गतेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन गरेको थियो । आन्दोलनको भावी रणनीतिको लागि बारले हिजो देशभरिका एकाइका अध्यक्ष, सचिवहरूसँग भर्चुअल छलफल गरेको थियो ।

परामर्श भइरहेको र सुझावको आधारमा थप विरोधका कार्यक्रम पछि तय गरिने बारले जनाएको छ । बारले प्रधानन्यायाधीशको राजीनामा नआए थप देशभर आन्दोलन गर्ने सम्मको चेतावनी दिएको छ । सर्वोच्चमा प्रधानन्यायाधीश राणाविरुद्ध न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् ।

  • २२ कार्तिक २०७८, सोमबार ०९:२५ प्रकाशित