बागलुङ समाजको रक्तदानमा ३५ युनिट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।
बागलुङ समाज पोखराले बुधबार आयोजना गरेको खुला रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ । कोभिड १९ संक्रमणका कारण रक्तदान हुने कार्यतालिका प्रभावित हुँदा रगत अभाव भएकाले समाजले रक्तदान गरेको हो ।

समाज आयोजना गरेको रक्तदान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ब्लड ब्याग हस्तान्तरण गरी सुरुआत गरे । बागलुङकै बासिन्दा पौडेलले सामाजिक तहबाट यस खालका कार्यक्रम हुनु प्रशंसनीय भएको उल्लेख गरे । उनले समाजवादको यात्रासम्म पुग्न समाज र व्यक्तिहरु सचेत, जिम्मेवार र उत्तरदायी हुनुपर्ने उल्लेख गरे ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले रक्तदान, विपद्मा परेका जिल्लावासीलाई सहयोग जस्ता कार्यक्रम गरी बागलुङ समाज पोखरामा बस्ने बागलुङेको साथी बनेको उल्लेख गरे ।
समाजका अध्यक्ष सुनील पाण्डेले रगत विकल्प रगतमात्रै हुने भएकाले रक्तदान आयोजना गरिएको बताए । पोखरामा रहेका सबै बागलुङेको सुखदुःखको साथी बन्दै संस्थाले सामाजिक उत्तरदायित्व बहन गरी विभिन्न कार्यक्रम गर्दै आएको उनले उल्लेख गरे ।

  • १७ कार्तिक २०७८, बुधबार १८:३० प्रकाशित