आज यम पञ्चकको दोस्रो दिन, काग र कुकुर तिहार

केन्द्रभाग मिडिया

पोखरा ।
तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज काग र कुकुरलाई पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

आज बिहान ७:१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ। वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ ।

काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ । कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।​

सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ । बुधबार बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले बिहीबार मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ । काग तिहार पनि आजै हो । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार आज बिहान यमराजका दूतका रूपमा कागलाई मीठामीठा चिजबिज खान दिएर मनाइँदै छ।

बिहान त्रयोदशी परेको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी तिथि लाग्छ ।

  • १७ कार्तिक २०७८, बुधबार ०७:३४ प्रकाशित