पोखरा ।
गण्डकी प्रदेश सरकारका मन्त्रीहरुमध्ये भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा गरीब देखिका छन् । गएराती सम्पत्ति विवरण सार्वजनिक गर्दा उनको सम्पत्तिको नाममा १० हजार रुपैयाँ बचत मात्र देखिएको हो ।
सम्पत्ति विवरणमा उनको नाममा कुनै सम्पत्ति छैन भने एउटा सहकारीमा १० हजार रुपैयाँ वचत देखाइएको छ । उनले सम्पत्तिको नाममा ताराखोला–५ को जनएकता बहुउद्धेश्यीय सहकारीमा १० हजार रुपैयाँमात्र शेयर रहेको उल्लेख गरेका छन् ।
बागलुङ ताराखोला गाउँपालिका वडा नम्बर ५ घर भएका बुढाले सगोलमा जग्गा भएको उल्लेख गरेका छन् तर कति कित्ता र क्षेत्रफल छ भन्ने उल्लेख गरेका छैनन् ।
ताराखोला ५ को २ ठाउँमा सगोलमा पुख्र्यौली जग्गा भएको उल्लेख गरेका बुढाले आफ्नो नाममा कुनै घर र जग्गा नगरेको बताए । उनले एभरेस्ट बैंकमा खाता रहेको उल्लेख गरे पनि वचत शून्य देखाएका छन् ।
घरजग्गा, पशुधन, आफूसँग रहेको सामानसमेत सम्पत्ति विवरणमा उल्लेख गर्नुपर्ने भए पनि बुढाले भने कुनै पनि उल्लेख गरेका छैनन् ।