प्रदेश १ः मुख्यमन्त्री आचार्यको फैसला आज, गठबन्धनबाटै मुख्यमन्त्री बनाउने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।
अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको आज छिनोफानो हुदैँछ ।

नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि आज बैठक बस्दैछ । आचार्यले मत पाउने सम्भावना निकै नै न्युन छ ।

मत विभाजनका लागि आज प्रदेश नम्बर १ मा बैठक बस्दै छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि आज मतविभाजन हुने भएको हो । आज मध्यान्ह साढे १२ बजे बस्ने प्रदेश सभा बैठकले मत विभाजन गर्ने भएको छ ।

प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी गठबन्धनबाटै नयाँ मुख्यमन्त्री बनाउने पक्षमा छन्।

विपक्षी गठबन्धनबाट भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय भइसकेको छ। आइतबार विपक्षी गठबन्धनका नेताहरूबीच बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेका थिए।

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले नयाँ मुख्यमन्त्रीमा राईलाई समर्थन गरिएको जानकारी दिए।

विपक्षी गठबन्धनले मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई आग्रहसमेत गरेका छन्।

प्रदेश १ को प्रदेश सभामा ९२ सांसद छन्। मुख्यमन्त्री आचार्यलाई विश्वासको मत जुटाउन ४६ जना प्रदेश सभा सांसद चाहिन्छ।तर नेकपा एमालेसँग सभामुखसहित ४१ सांसद छन्।

  • १५ कार्तिक २०७८, सोमबार ०८:५० प्रकाशित