मलामी गएका युवक कालीगण्डकीमा बेपत्ता

केन्द्रभाग मिडिया

गुल्मी ।
कालीगण्डकी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । आइतबार दिउँसो चन्द्रकोट गाउँपालिका ८ का १९ वर्षीय शंकर पौडेल कालीगण्डकीमा डुबेर बेपत्ता भएका हुन् ।

उनी चन्द्रकोट गाउँपालिका(७ का ७६ वर्षीय थनेश्वर न्यौपानेको मृत्यु भएपछि दाहसंस्कारको लागि सत्यवती गाउँपालिका(१ रुद्रवेनीघाटमा गएका थिए । उनीसहित केही युवक घाटमाथि नुहाउन पुगेका थिए । सोहीक्रममा पौडेल डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक सुबराज बम र इलाका प्रहरी कार्यालय जोहाङका प्रहरी निरिक्षक लक्ष्मण विक नेतृत्वको प्रहरी टोली र स्थानीयले बेपत्ता पौडेलको खोजिकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईले बताए ।

गहिरो दहमा डुबेको आशंकामा प्रहरी र स्थानीयले खोजी गरे पनि समस्या भइरहेको भट्टराईले बताए । मलामी गएको छोरा खोलामा बेपत्ता भएपछि परिवार शोकमा डुबेका छन् । स्थानीयले गोताखोर मगाएर भएपनि खोजी गर्न माग गरेका छन् ।

  • १४ कार्तिक २०७८, आईतवार १७:०० प्रकाशित