आश्रममा बस्न गएकी महिलामाथि निलडाम हुने गरि कुटपिट, संवेदनशील अंगमा चोट

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

सर्लाहीमा आश्रममा गएकी महिलामाथि निर्घात कुटपिट भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका नयाँ रोडस्थित मानव सेवा आश्रममा बस्न गएकी हरिवन नगरपालिका–१ पटौना टोलकी २९ वर्षीया रेखाकुमारी कार्कीमाथि कुटपिट भएको घटना बाहिरिएको हो ।

उनीमाथि गत कार्तिक ८ गते आश्रमम परिसरमै निर्घात कुटपिट भएको जनाइएको छ । महिलाको शरीरभरी निलडाम रहेको र उनको संवेदनशील अंगमा गम्भीर चोट रहेको परिवार स्रोतले बताएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

मानसिक रोगको उपचारका लागि भन्दै गत कार्तिक ३ गते कार्कीलाई आश्रम लगिएको थियो । मानसिक रोगीलाई किन आश्रम लगियो भन्ने बारे कुनै तथ्य आएको छैन ।
आश्रमका सञ्चालकहरुले भने उनलाई आश्रममा राख्न नसकिने भन्दै घर फिर्ता लान त्यसअघि नै आग्रह गरेका थिए । त्यसपश्चात उनलाई घर फिर्ता लगिएकोमा उनीमाथि आश्रममा कुटपिट भएको खुल्न आएको हो ।पीडित पक्षले प्रहरीमा उजुरी दिन गएपनि प्रहरीले भने उजुरी नलिएको बताइएको छ ।

प्रहरीले भने उजुरीमा उल्लेख गरेजस्तो घटना नरहेकाले उजुरी नलिएको बताएको छ । पीडित पक्षले कुटपिटमा संलग्नलाई कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।

  • १४ कार्तिक २०७८, आईतवार १५:४८ प्रकाशित