चारलेन बन्दैँ मुग्लिङ – पोखरा सडक, रुख काट्न सुरु

केन्द्रभाग मिडिया

दमौली ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चारलेन बन्ने भएसँगै आसपासका रुख काट्न सुरु गरिएको छ।

मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो। बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ।पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने छ।

सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रूख काट्नुपर्ने छ। तनहुँ खण्डमा रूख काट्न वन विभागबाट स्वीकृति पाइसकेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए।

उनकाअनुसार सडक आयोजनाले रूख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ। कास्की खण्डमा भने एक हजार दुई सय पचास रूख काट्न विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइएको छ।

सडक विस्तारका लागि निर्माण कम्पनीले चीनबाट उपकरण ल्याएको छ। सडकखण्डको ८० किलोमिटरमध्ये म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रको आठ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ।

  • १४ कार्तिक २०७८, आईतवार ०८:२८ प्रकाशित