राम जन्मभूमि अयोध्या नेपालमै पर्छ, फैजावादलाई अयोध्या भनेको झुटो हो : ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  राम जन्मभूमि अयोध्या नेपालमै पर्ने जिकिर गरेका छन् । शनिबार ललितपुरमा पुस्तक विमोचन समारोहमा बोल्दै उनले रामको जन्म नेपालमा भएको भनेर अभिव्यक्ति दिँदा विगतमा भूइँचालो जालाजस्तो भएको टिप्पणी  गरे । उनले भारतको फैजावादलाई अयोध्या भनिएको दाबी गरे ।

यस अघि प्रधानमन्त्री पदमा बहाल रहँदा ओलीले रामको जन्म नेपालको चितवनस्थित ठोरीको अयोध्यामा भएको अभिव्यक्ति दिएका थिए । २०७७ असारमा ओलीले रामजन्मबारे दिएको अभिव्यक्तिप्रति नेपाल र भारतबाट टीकाटिप्पणी र आलोचना भएपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको प्रष्टोक्ति दिएको थियो ।

सोही कुराको स्मरण गर्दै ओलीले भने, ‘झन्डैं एकपल्ट के के न भूइँचालो जालाजस्तो भयो । सही कुरा त्यै हो, तर भूइँचालो जालाजस्तो उत्पात आँधीहुरी ।’ उनले थपे, ‘हाम्रा छिमेकीहरूलाई कहिले–कहिले कालीदास हाम्रै हो भन्दा पनि पीर पर्छ । राम जन्मभूमि अहिले नेपालमा पर्छ, फैजावादलाई अयोध्या भनेको झुटो हो । त्यो सही कुरा होइन भन्दाखेरि कत्रो उत्पात ?’

आफूले राजनीति नभई ऐतिहासिक तथ्यको, खोजको कुरा गरेकामा विरोध भएको ओलीको भनाइ थियो । नेपाल ऋषिमुनीहरुको भूमि भएको उनको भनाई छ ।

  • १३ कार्तिक २०७८, शनिबार १८:०७ प्रकाशित