निर्वाचनमा जोड दिएको एमालेलाई उपनिर्वाचनको तयारीसंगै तनाव !

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तत्कालिन नेकपामा आफू विरुद्ध मोर्चा खडा भएसंगै संसद विघटन गरेर आफैले नेतृत्व गरेको सरकार माफत चुनाव गराउन चाहन्थे । यसका लागि उनले ५ पुसमा संसद विघटन गरेर निर्वाचनको घोषणा समेत गराएका हुन् । त्यस कदमलाई अन्यदलहरु र नागरिक समाजले समेत प्रतिगम भन्दै आन्दोलनमा उत्रिए ।

सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री ओलीको त्यो कदमलाई खारेज गरिदियो । त्यसपछि पनि उनले दोस्रोपटक संसद विघटन गरे । उनको दोस्रो पटकको प्रयास विफल मात्र भएन सवोच्च अदालतको आदेशसंगै उनी प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा रुपान्तरण भएका छन् । उनको दल एमाले अहिले बलियो र सशक्त प्रतिपक्षी दलको रुपमा रहेको छ ।

नेकपा एमालेले विधान अधिवेशन गरेरै तत्कालिन प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम सहि थियो भन्ने निश्कर्ष निकाल्दै चुनावमा जानुपर्नेमा जोड दिएको छ । यद्यपी विद्यान अधिवेशनले ‘संसद विघटन’ शब्द उच्चाहरण नगरिकन चुनावमा जाने निर्णय सहि थियो भनेको छ र देश निर्वाचनमै जानुपर्छ भन्ने निस्कर्ष नै निकालेको छ ।

निर्वाचनमा जोड दिएको एमाले यतिबेला निर्वाचन आयोगले निर्वाचनको तयारी नै थाल्नेगरी सरकारसंग प्रस्ताव गरेपछि भने केहि झस्किएको पाइएको छ । नेपाली कांग्रेससँग मिलेर समयअगावै आम निर्वाचनतर्फ देशलाई धकेल्न खोजिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमाले निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेपछि सशंकित भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ८ कार्तिकमा प्रधानमन्त्री देउवासंग राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन तथा स्थानीय तहको निर्वाचनबारे छलफल गरेको थियो ।

प्रतिनिधि सभाका चार र प्रदेशसभाका १८ गरी २२ स्थानमा उपनिर्वाचन र राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पुरा गरेका १९ सदस्यहरुका लागि उपनिर्वाचन गर्ने आयोगको तयारी छ । आयोगले सरकारलाई उपनिर्वाचनका लागि ९० दिनको समय आवश्यक हुने बताएको छ।

‘नेकपा एमालेका एक स्थायी समिति सदस्यका अनुसार उपनिर्वाचनमा जिते त उत्साह जाग्ला, पराजित भए त्यसले अर्को निर्वाचनलाई धक्का दिनसक्छ भन्नेमा अहिले एमाले चिन्तित छ । एमालेले तत्काल निर्वाचनमा जाने र सत्तामा फर्कने कुरा गरिरहेको भएपनि त्यो त्यति सहज नभएको ति केन्द्रीय सदस्यले खुलाए । ‘भन्न त हामीले तत्काल मुलुक निर्वाचनमा जानुपर्छ भनेका छौं ।

हाम्रो अध्यक्ष कम्रेडले पनि निर्वाचनमा गएर बहुमत ल्याउँछौ भनिरहनुभएकै छ । तर, हाम्रो पार्टी विभाजन भएको धेरै समय भएको छैन । यसको प्रभाव र मनोविज्ञान तलसम्म परेको छ । अरु सबैपार्टी मिल्ने र हामी एक्ले मैदानमा जाने अवस्था आउनुका साथै उपनिर्वाचनमा पराजय भएमा त्यसले आम निर्भाचनमा पनि हामीलाई प्रभाव पार्छ । अहिले नै हाम्रा लागि चुनाव उपयुक्त होइन’ उनले भने ।

आयोगले गर्न लागेको उपनिर्वाचनमा होमिने गठबन्धनको तयारी छ । गठबन्धनको एक दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शुक्रबारमात्रै अर्ली इलेक्सन आवश्यक नभएको बताएका छन् । एमालेका ति स्थायी समिति सदस्यको भनाईलाई बल पुग्ने गरि नै अध्यक्ष नेपालले उपनिर्वाचनमा सत्तारुढ दलहरुका बीचमा सहकार्य हुने प्रष्ट संकेत गरेका छन् ।

  • १३ कार्तिक २०७८, शनिबार ०८:२९ प्रकाशित