आजदेखि बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द

केन्द्रभाग मिडिया

(फाइल फोटो)

गलेश्वर ।

आजदेखि बेनी जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने भएको छ ।

गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न लागेकाले सडक बन्द गरिने भएको हो ।

नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभीरमा मर्मत र सवारीसाधन एकसाथ आवतजावत गर्न नसक्ने तथा चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

उनका अनुसार दैनिक बिहान ७ देखि ११ बजेसम्म तथा दिउँसो १ देखि ५ बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ । त्यस्तै बेलुकी ७ देखि बिहान ७ बजेसम्म र दिउँसो ११ देखि १ बजेसम्म बाटो खुला रहनेछ ।

उक्त समयमा ठूला सवारीसाधनलाई रुप्से आसपासका क्षेत्रमा रोक्न र पैदलयात्रीलाई पारिबाट गन्तव्यमा पुग्ने गरी वातावरण बनाउन आवश्यक सहयोग गर्ने उनले बताए ।

  • १२ कार्तिक २०७८, शुक्रबार १०:२४ प्रकाशित