बाग्मतीले आज नयाँ मुख्यमन्त्री पाउँदै, साँझ ५ बजे शपथको तयारी

केन्द्रभाग मिडिया

हेटौँडा ।

वाग्मती प्रदेश नेता राजेन्द्र पाण्डेले आज मुख्यमन्त्रीको शपथ ग्रहण गर्दैछन् । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् ।

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए ।आह्वानसँगै पाण्डेले हिजै मुख्यमन्त्रीमा दाबी पेस परेको गरेका थिए ।

आजै दिउँसो ५ बजेभित्र पाण्डे सहितको नयाँ सरकारले शपथ ग्रहण गर्ने तयारी रहेको कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले बताएका छन् । उनका अनुसार गठबन्धन दलहरुले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी गरेको छ ।

गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा (एस)का गरी कुल ५९ सांसद हस्ताक्षरसहित हिजै पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह गर्दै पत्र बुझाएका छन् । सत्तारुढ एमालेले भने सरकार गठनका लागि दाबी नगर्ने भएको छ । जसका कारण पाण्डेको सत्तारोहण सहज हुने देखिएको छ ।

गठबन्धनले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि बिहीबार दिउँसो ३ बजेसम्म दाबी पेश गर्न समय दिइएको छ ।

  • ११ कार्तिक २०७८, बिहीबार ०९:२३ प्रकाशित