काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणले विद्युतको नयाँ महशुल दर कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले नयाँ महशुल दर तोकेको हो ।
गठबन्धनको सरकार गठन भएसगै विद्युत महुशल घटाउन प्राधिकरणलाई निर्देशन दिएको थियो । नयाँ महशुल दर आगामी मंसिर महिनाको विद्युत् खपतमा अर्थात पुस महिनाको बिलिङबाट लागू हुनेछ ।
नयाँ विद्युतदर अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क लाग्ने छैन भने न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको छ ।
सिंगल फेजबाट विद्युत जडान भएका घरले उक्त सुविधा पाउने छन् । १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । ४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ ।
मासिक ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा अब वर्षायाममा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा लाग्नेछ । चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि हाल कायम प्रति युनिट १२ रुपैयाँ इनर्जी शुल्कलाई वर्षायाममा घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा तोक्ने प्रस्ताव गरिएको छ ।
ट्युबेल संचालन गर्ने सिँचाई उपभोक्ताका लागि अहिले रहेको महशुलमा ४०.६९ प्रतिशत घटाईएको आयोगले जनाएको छ ।