म्याग्दी ।
४ दिन लाग्ने अन्नपूर्ण बेस क्याम्पको यात्रा अब २ दिनमै पुरा हुने भएको छ । सडक बनेसँगै अब
म्याग्दी स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि ४ दिनको यात्रा अब २ दिनमा छोटिएको नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले जानकारी दिएका छन् ।
अध्यक्ष पुर्जाको अनुसार नारच्याङबाट छोटेपा र छोटेपाबाट हुमखोला २ दिन हिँड्नुपर्ने बाटो अहिले गाडीमा २ घण्टामा पार गर्न सकिन्छ ।सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा २ दिनमा अन्नपूर्ण आधार शिविर पुग्न सकिने भएको छ । अन्नपूर्ण हिमालको आधार शिविर छोटो दूरीको पैदलयात्रामा पुग्न सकिने सम्भवतः नेपालको पहिलो आधार शिविर भएको पुर्जाले बताए ।
पर्यटन विभागले २ करोड ५० लाखभन्दा बढीको लागतमा गत आर्थिक वर्षमा हुमखोलाबाट आधार शिविर जोड्ने पदमार्गको स्तरोन्नति गरेको छ ।
निलगिरीखोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत् आयोजनाले अक्करे पहाडमा विस्फोटक पदार्थको प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्गले पर्यटक र स्थानीयवासीलाई समेत सुविधा पुगेको छ ।