अफगानिस्तानमा चरम मानवीय संकट: भोक मेटाउन आफ्नै सन्तान बिक्री!

केन्द्रभाग मिडिया

काठमाडौं।

अफगानिस्तानमा विश्वकै सबैभन्दा चरम मानवीय संकट देखिएको छ ।गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अन्तर्राष्ट्रिय सहयोग बन्द भएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।

अफगानिस्तानमा अभावका कारण मानिसहरुले छोराछोरी बिक्री गरिरहेका छन् । परिवारका अन्य सदस्यलाई बचाउन त्यहाँ मानिसले आफ्नै सन्तानलाई बेच्ने गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

अभावले ग्रस्त एक महिलाले आफ्नो सानी छोरीलाई ५ सय अमेरिकी डलर (करिब ६० हजार नेपाली रुपैयाँ)मा बिक्री गरेको बीबीसीको एक रिर्पोटमा उल्लेख गरिएको छ । ती महिलाले भनेकी छिन्, ‘मेरा अरु छोराछोरी भोकले मर्दैछन्, त्यसैले हामी छोरी बेच्न बाध्य भयौं । म किन दुखी हुन्थिनँ र । उ मेरै बच्ची हो ।’

उनका श्रीमान् कबाडी संकलनको काम गर्थे, तर त्यसबाट केही आम्दानी नै हुँदैन । उनी भन्छन्, ‘हामी भोकले मरिरहेका छौं । हामीसँग अहिले न त पिठो छ न त तेल । हामीसँग केही पनि छैन ।’ उनी अगाडि भन्छन्, ‘मेरी छोरीलाई उसको भविष्य कस्तो हुन्छ भन्ने थाहा छैन । उसले केही थाहा पाउने अवस्था पनि छैन । तर मैले भने यस्तो कदम चाल्न बाध्य भएँ ।’

विश्वका प्रमुख दाताराष्ट्रले तालिबानी सत्तासँग कस्तो सम्बन्ध राख्ने भन्ने स्पष्ट नपारेकाले पनि अफगानिस्तानमा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्रीको अभाव भएको छ ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम(डब्लूएफपी)ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ ।

  • ९ कार्तिक २०७८, मंगलवार १३:५० प्रकाशित