१३ न्यायाधीशलाई जबराको जवाफ : यदि राजीनामा दिने हो भने सबैले सामूहिक रुपमा मार्गप्रशस्त गरौं

केन्द्रभाग मिडिया

काठमाडौं।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीचको छलफल सम्पन्न भएको छ। प्रधानन्यायाधीशको च्याम्बरमा भएको छलफलमा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका थिए । जवाफमा प्रधानन्यायाधीश जबराले आफूले कुनैपनि हालतमा राजीनामा नदिने बताएका छन् ।

प्रधानन्यायाधीशको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘म अहिले राजीनामा दिन्नँ । म कसैले आरोप लगाएको भरमा राजीनामा दिन्नँ । अहिले मैले राजीनामा दिनुपर्ने कारण के छ ? म संविधानसम्मत् आएको हुँ । संवैधानिक प्रक्रिया पुरा गरेर हटाउनुहोस । यदि राजीनामा दिने हो भने सबैले सामूहिक रुपमा मार्गप्रशस्त गरौं। म किन राजीनामा दिन्छु ।’

प्रधानन्यायाधीश जबराले राजीनामा दिने भए आफूले मात्रै नभएर सबै न्यायाधीशले सामूहिक राजीनामा दिनुपर्ने तर्क गरेका थिए । प्रधानन्यायाधीश जबराले आफूमाथि लागेका आरोपको आफूले यसअघि नै खण्डन गरिसकेको पनि स्पष्ट पारेका थिए । आज प्रधानन्यायाधीश जबरासँग १५ जना न्यायाधीशहरुले भेटेका थिए ।

  • ९ कार्तिक २०७८, मंगलवार १३:१३ प्रकाशित