जबराविरुद्धको गतिविधिमा नलाग्ने बताएका ओलीको प्रश्न सबै प्रधानन्यायाधीशले मात्रै व्यहोर्नु पर्ने

केन्द्रभाग मिडिया

विराटनगर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा देखि महाभियोग लगाउने सम्मको प्रयासहरुको आलोचना गरेका छन् । उनले त्यसमा आफूहरु नअल्झने स्पष्ट पारेका छन् । उनले अदालतमा अहिले विकसित घटनालाइ राजनीतिक दाउपेच र अशोभनीय गुटबन्दीको संज्ञा दिदै खिचातानीमा नपर्ने बताए ।

‘हामीलाई अदालतको राजनीतिक दाउपेच, अशोभनीय गुटबन्दी र खिचातानीमा पर्नु छैन,’ ओलीले प्रेस चौतारी मोरङले आज आयोजना गरेको कार्यक्रममा भने, ‘न्यायाधीशलाई न्यायाधीशको आसनमा बसेर न्याय निरुपण गर्न त अदालतको श्रीमान्ज्यूहरुले नै नदिएको होइन र ?’

ओलीले धम्कीको भरमा इजलासका सदस्यहरु फेर्ने र न्यायाधीश मान्दिनँ भन्ने गतिविधिहरु भएको भन्दै आक्रोश पोखे । उनले भने, ‘यी तमासा परमादेशभन्दा अगाडिकै सेटिङ होइन र ?’ ओलीले सुशीला कार्कीलगायत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने पूर्वप्रधानन्यायाधीशहरुको खुलेर आलोचना गरे ।

उनले भने, ‘संविधानको बर्खिलाम सुशीला कार्कीले उहिले नै फैसला गर्नुभयो ।’ उनले संवैधानिक इजलास गठनबारे संविधानमा उल्लेख भए अनुसार हुनुपर्नेमा धम्की दिने गतिविधिहरु भएको भन्दै आफूहरुले खबरदारी गर्दै आएको बताए ।

अहिले सत्ता गठबन्धनबाट राज्यको सिस्टम नै भताभुंग पार्ने खेलहरु भइरहेको आरोप लगाए । ओलीले भने, ‘एमाले राज्यको सिस्टम कमजोर पार्ने गतिविधिलाई असफल पारेरै छाड्छ ।’

  • ९ कार्तिक २०७८, मंगलवार १३:०० प्रकाशित