चीनमा फेरि फर्किदै कोरोना भाइरसः स्थानीयलाई घरभित्रै बस्न अपिल

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोरोना भाइरस मत्थर बनिसकेको चीनमा फेरि कोरोना भाइरस संक्रमण फैलिन सुरु भएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगको अनुसार चीनमा फेरि नयाँ संक्रमित फेला पर्न थालेका छन् । भाइरस पुनस् देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् ।

यही अक्टोबर १७ देखि सुरु भएको संक्रमण एक सातामै ११ प्रान्तमा फैलिसकेको आयोगले जनाएको छ । गङसु र इनर मंगोलियाका केही शहरमा भाइरसका कारण बस तथा ट्याक्सी सेवा बन्द गरिएको यातायात मन्त्रालय जनाएको छ ।

इनर मंगोलियाको एजिना क्षेत्रका बासिन्दा र यात्रीलाई आज (सोमबार)देखि घरभित्रै बस्न भनिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय सरकारले विज्ञप्ति जारी गर्दै स्थानीयलाई घरभित्रै बस्न भनेको हो ।

अन्यत्र क्षेत्रबाट आएको डेल्टा भेरियन्टका कारण नयाँ संक्रमित देखिएको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वु लियाङवुले आइतबार जानकारी दिएका छन् ।अधिकांश संक्रमितले विगतमा अन्तरक्षेत्रीय यात्रा गरेका छन् । उनले महामारीबाट प्रभावित स्थानमा ‘आपतकालीन उपाय’ अपनाउनुपर्ने अपिल समेत गरेका छन् ।

  • ८ कार्तिक २०७८, सोमबार १२:४२ प्रकाशित