जबराको आह्वानमा आज ‘फुलकोर्ट’, न्यायाधीशहरुले बहिष्कार गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

चारैतिरबाट विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज फुलकोर्ट अर्थात पूर्ण बैठक बोलाएका छन् ।

आईतबार नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउने बताएका थिए ।फुलकोर्ट आज दिउँसो साढे १ बजेका लागि बोलाइएको जनाइएको छ ।

आफूमाथिको संकटमोचनका लागि प्रधानन्यायाधीश जबराले बोलाएको ‘फुलकोर्ट’ न्यायाधीशहरूले भने बहिष्कार गर्ने भएका छन् । प्रधानन्यायाधीशकै आचरण र व्यवहारले न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले फुलकोर्ट बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरेका हुन्

आफैं सार्वजनिक कठघरामा परेका जबराले तोकेका इजलास पनि बहिष्कार गर्नेसम्मको तयारी भएको छ । न्यायाधीशहरूको भद्र अवज्ञालाई साथ दिन अधिवक्ताहरूसमेत आन्दोलनमा उत्रँदै छन् ।

पूर्ण बैठकमा सहभागी हुने वा नहुने भन्ने बारेमा बार एशोसियसन भने अलमलमा परेको बताइएको छ । यसबारे छलफल गर्न बैठक बिहान ११ बजेका लागि बोलाइएको बार एशोसियसनले जनाएको छ ।

  • ८ कार्तिक २०७८, सोमबार १०:०४ प्रकाशित